|

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलल्ला अल-मुताइरी र राष्ट्रिय फुटबल टोलीको क्लोज क्याम्पमा बोलाइएका १० खेलाडीबीचको विवाद छानबिनका लागि गठित ३ सदस्यीय समितिले बुधबार एन्फासमक्ष प्रतिवेदन बुझाएको छ।

एन्फाले भिक्टर शम्शेर राणाको नेतृत्वमा ३ सदस्यीय समस्या, पहिचान र सुझाव कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले १० दिनपछि प्रतिवेदन महासचिव इन्द्रमान तुलाधारसमक्ष प्रस्तुत गरेका थिए। २८ पृष्ठ लामो प्रतिवेदनमा समितिले विभिन्न ९ वटा फरक शीर्षकमा आफ्ना राय समेटेर प्रतिवेदन बुझाएको उल्लेख छ।

एएफसी एशियन कप तेस्रो चरणको छनोटका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीका सिनियर खेलाडी र प्रशिक्षकबीचको विवादका कारण १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए। प्रशिक्षकले आफूहरूलाई जबर्जस्ती निकालेको भन्दै उनीहरुले न्याय पाउनुपर्ने माग गर्दे आएका छन्।

राष्ट्रिय टोलीमा रहेका रोहित चन्द, विमल घर्तिमगर, सुजल श्रेष्ठ, अञ्जन बिष्टसहित १० सिनियर खेलाडीले क्लोज क्याम्प छाडेका थिए। राष्ट्रिय टोलीका मुख्य १० खेलाडीले एकैपटक क्लोज क्याम्प छोडेको यो पहिलो पटक हो। 

त्यसपछि चर्को रुपमा एन्फामाथि छानबिन गर्न दबाब परेपछि एन्फाले त्यसको १० दिनपछि मात्र छानबिन समिति गठन गरेको थियो। अघिल्लो आइतबार गठित समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने समय दिइएको भएपनि निर्वाचन र निरन्तर बिदाका कारण समितिले १० दिनपछि प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझेपछि एन्फा महासचिव इन्द्रमान तुलाधरले सुझावअनुसार सचिवालयले नै कार्यन्वयन गर्न सक्ने अवस्था आएमा सोहीअनुसार हुने र माथिल्लो निकायमा जानुपर्ने भए कार्यसमिति बैठक बसेर निर्णय गरिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.