|

कञ्चनपुर : नेकपा एमालेले कञ्चनपुरमा दोस्रो जित निकालेको छ। लालझाडी गाउँपालिकापछि दोधाराचाँदनी नगरपालिकाको नेतृत्व एमालेले पाएको हो।

दोधाराचाँदनीको मेयरमा एमाले उम्मेदवार किशोरकुमार लिम्बु विजयी भएका छन्। उनी नेपाली कांग्रेसका गोपालदत्त भट्टलाई फराकिलो मतान्तरले पराजित गर्दै मेयर बनेका हुन्। लिम्बुले ७ हजार १०४ मत पाउँदा भट्टले ६ हजार १७१ मत पाएका पाएको निर्वाचन अधिकृत कृष्णदत्त भट्टले बताए।

उनका अनुसार उपमेयरमा नेपाली कांग्रेसकी गंगादेवी जोशी विजयी भइन्। जोशीले ६ हजार ३६५ मत पाउँदा उनकी प्रतिस्पर्धी एमालेकी खिमा चन्दले ५ हजार ८२२ मत ल्याइन्।

दोधराचाँदनीमा एमालेले पहिलोपटक जित हात पारेको युवा संघ नेपालका निवर्तमान अध्यक्ष वचनबहादुर सिंहले जानकारी दिए। ‘२०४६ सालपछि पहिलोपटक एमाले नेतृत्वमा पुगेको हो’‚ उनले भने, ‘०७४ सालमा उपमयेर जिते पनि मेयरमा लिम्बु हार्नु भएको थियो।’

दोधराचाँदनी नेपाली कांग्रेसको परम्परागत गढ मानिन्थ्यो। यहाँ कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्रभाव थियो।

 

को हुन् लिम्बु ?

दोधाराचाँदनी नगरपालिकाका ५० वर्षीय किशोर लिम्बु युवा नेताको रूपमा चिन्छन्। उनका बुवा भारतीय सेनामा कार्यरत थिए। देहरादुनमा दरबन्दी भएका वेला त्यहाँबाट नजिक पर्ने भएकाले उनले दोधारामा घरजग्गा किनेर परिवारलाई यतै बसाएका थिए।

पुर्ख्यौली ताप्लेजुङको श्रीजंगा गाउँपालिका घर भएका लिम्बुको बाल्यकाल यतै बित्यो। काठमाडौंमा उच्च शिक्षा पढेपछि उनी दोधारा फर्केर शिक्षणमा लागे।

लिम्बुले अंग्रेजीबाट एमए, एमएड र व्यवस्थापनमा एमबिए गरेका छन्। राजनीतिसँगै शिक्षा क्षेत्रमा समेत जोडिएका लिम्बु यस क्षेत्रका लोकप्रिय युवामा दरिन्छन्। २०४५ सालबाट राजनीतिमा लागेको उनले बताए। एमाले निकट विद्यार्थी संगठनमा आबद्ध भएर उनी २०४६ सालको ऐतिहासिक जन आन्दोलनमा सहभागी भएका थिए।

त्यसपछि नेकपा एमालेको संगठन निर्माणमा सक्रिय हुँदै अहिले जिल्ला कमिटी सदस्य छन्। उनले दुई कार्यकाल नगर कमिटी अध्यक्ष भएर काम गरे। नेकपा एमाले र माओवादी एकीकरणपछि पनि उनले दोधाराचाँदनीको नेतृत्व पाए।

नेकपा विभाजन पछिको एमालेको ८ औं जिल्ला अधिवेशनबाट उनलाई जिल्ला कमिटी सदस्य बनाइएको छ। दोधाराचाँदनी नगरपालिका दुईतिरबाट नदीले घेरिएको टापु जस्तो छ।

पूर्वबाट महाकाली र पश्चिममा जोगबुढा नदीले घेरेको यो नगरपालिकामा कटान र डुबानको समस्या बढी छ। यही नगरको नेतृत्व लिम्बुले पाएका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर सुनारसँग झिनो मतले पराजित लिम्बुले यसपालि नगरको नेतृत्व पाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.