‘सरकारले एमसिसी र बीआरआई जस्ता परियोजनालाई गिजोल्याे’

|
फाइल फोटो

काठमाडाैं : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन्।  बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले गठबन्धन सरकारसँग काम गर्ने  क्षमता र इच्छाशक्ति दुवै नभएको आरोप लगाएका हुन्। 

सरकारलाई राज्य संयन्त्रले समेत नपत्याएको जिकिर गरे। अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने भनेर निर्देशन गरे पनि १० महिनामा ३० प्रतिशत भन्दा बढी खर्च गर्न नसकेको बताए। 

अर्थमन्त्री शर्मालाई अबको ३ महिनामा पुँजीगत खर्चको लक्ष्य कसरी निर्धारण गर्न सक्नुहुन्छ भनेर प्रश्न समेत गरे। उनले संविधानले समाजवादउन्मुख अर्थतन्त्रको कुरा गरे पनि सरकारको प्राथमिकता समाजवाद केन्द्रित नदेखिएको  आरोप लगाए। 

अर्थमन्त्रीले सिद्धान्तहीन बजेटको तयारी गरेको भन्दै भट्टराईले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन माग गरे। अघिल्लो सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि बजेट छुट्याएको तर अहिलको अर्थमन्त्री त्यसबारे केही बोल्न नसकेको उनकाे भनाइ छ। अर्थमन्त्री  समाजवादको गफ दिने र काम अर्को तिर गर्ने गरेको आरोप लगाए। 

अघिल्लो सरकारले ल्याएका राष्ट्रिय गौरवका आयोजना, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने कार्यक्रमहरुलाई सरकारले नजरअन्दाज गरेको भट्टराईले बताए । उनले कोभिडका कारण धराशायी बनेको पर्यटन क्षेत्रलाई नयाँ शिराबाट सुधार गरेर विदेशी मुद्राको सञ्चिति बढाउन सकिने बताए। 

गठबन्धन सरकारले एमसिसी र बीआरआई जस्ता परियोजनालाई गिजोल्ने काम गर्ने अन्तर्राष्ट्रिय विश्वास घटाएको भट्टराईको आरोप छ। युवालाई रोजगारीको अवसर दिनेभन्दा ‘मलेसिया पठाइदिने’ नीति सरकारले लिएको भन्दै उनले अर्थतन्त्र सुधार्न सरकारले कुनै उपाय दिन नसकेको बताए। 

उनले भने, ‘विश्वमा विभिन्न राजनीतिक दलहरूका बेग्लाबेग्लै सिद्धान्त र दर्शकहरु छन्। त्यसको आधारमा नै राजनीतिक दलहरु गठन भएका हुन्छन्। अर्थमन्त्री ज्युले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरि रहँदा के सोध्न मन लागेको छ भने यो कुन सिद्धान्त हो? कस्तो सिद्धान्त हो? कसका लागि सिद्धान्त हो? यो सिद्धान्त सम्माननीय प्रधानमन्त्री ज्युको सिद्धान्त हो की? अर्थमन्त्री ज्युको सिद्धान्त हो? यदि प्रधानमन्त्री र अर्थमन्त्री ज्युको एउटै सिद्धान्त हो भने यहाँ गम्भिर प्रश्न छ।’

अर्थमन्त्री शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रधानमन्त्रीको की आफ्नै सिद्धान्त ल्याएको भनेर प्रश्न गरे। गठबन्धन सरकार आएसँगै मुलुकको आर्थिक प्रणाली खास गरी औपचारिक प्रणाली र  बैंकिङ प्रणालीहरू नै ध्वस्त हुँदै गएको बताए। 

अनौपचारिक क्षेत्रले प्रश्रय पाएकाले हुण्डी, कमिसन, भष्टाचार र तस्करीका बाटाहरु खुल्ला गरिएको आरोप लगाए। यो सरकार आए पछि अर्थतन्त्रका औपचारिक च्यानलहरू कमजोर भएर अनौपचारिक क्षेत्रका च्यानलहरू बलियो बन्दै गएको भट्टराईको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.