काठमाडौंका चोक-चोकमा फोहोरको डंगुर

|

काठमाडौं : महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या भएको छ। यसअघि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो। 

अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्फरस्टेसनमा जम्मा गरिएको फोहोरले आफूहरुलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहोर राख्न नदिएपछि काठमाडौंका प्रत्येक चोकमा फोहोरको डङ्गुर मात्रै छैन, दुर्गन्धसमेत फैलिएको छ। 

महानगरपालिकाले पहिलो चरणमा संकलन भएको फोहोर टेकुको ट्रान्सफरस्टेसनमा राख्ने र त्यहाँबाट क्रमिकरुपमा ठूला टिपरको प्रयोग गरेर सिसडोल लाने गरिएको छ। लामो समयसम्म टेकुमा फोहोर राख्दा अत्यधिक दुर्गन्ध फैलिएर समस्या भएको भन्दै स्थानीयवासीले तीन दिनदेखि अवरोध गरेका हुन्। 
  
यो समस्या समाधानका लागि कामपा वातावरण विभाग र वडा १२ का स्थानीयवासीका प्रतिनिधिबीच छलफल भइरहेको कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन। यसअघि पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि समय समयमा फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ। 

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। स्थानीयवासीकै अवरोधका कारण गत फागुन, चैत र वैशाखमा मात्रै ४२ दिन फोहोरको व्यवस्थापन हुन सकेको थिएन।

नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहोर निस्कने हुँदा आगामी दिन फोहोर व्यवस्थापनका हिसाबले कठिनाइ हुने कामपाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.