|

संखुवासभा : संखुवासभामा स्थानीय तह निर्वाचनको मत गणना सकिएको छ। संखुवासभाका १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६ पालिका र नेकपा (एमाले)ले  ४ वटा पालिका प्रमुख जितेको छ।

२०७४ को निर्वाचनमा कांग्रेस र एमाले पाँच/पाँच प्रमुख तथा अध्यक्ष जितेको थियो। हाल स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो भएको छ।

कांग्रेसले खाँदबारी, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका प्रमुख तथा अध्यक्ष जितेको छ।

एमालेले मादी नगरपालिका,धर्मदेवी नगरपालिका , चैनपुर नगरपालिका र भोटखोला गाउँपालिका प्रमुख तथा अध्यक्ष जितेकाे छ। १० स्थानीय तहका ७६ वडा मध्ये एमालेबाट ३४ वडाध्यक्ष निर्वाचित भएका छन्।

कांग्रेसबाट ३३ वडाध्यक्ष निर्वाचित भएका छन्। त्यस्तै माओवादी केन्द्रबाट ९ र स्वतन्त्रमा १ वडा अध्यक्ष निर्वाचित भएका छन्। वडा अध्यक्षहरूमा एमाले पहिलो देखिएको छ।

त्यसैगरी कांग्रेसबाट ३ र एमालेबाट ४ उपप्रमुख तथा उपाध्यक्ष विजयी भएका छन्। माओवादीले १, नेकपा (एकीकृत समाजवादी)ले २ उपप्रमुख तथा उपाध्यक्ष जितेको छ।

२०७४ को निर्वाचनमा एमाले ६ वटा र कांग्रेसले ४ वटा उपप्रमुख तथा उपाध्यक्ष जितेको थियो। खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया र उपप्रमुखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन्। सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी भएका छन्।

मादी नगरपालिकाको प्रमुखमा एमालेका जिवन लिंथेप र उपप्रमुखमा सुनिता देवी भट्टराई निर्वाचित भएकी छन्। पाँचखपन नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विपिन राई र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)की सुमुना श्रेष्ठ विजयी भएका छन्।

भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा र उपाध्यक्षमा एमालेकै सहना लामा निर्वाचित भएकी छन्।

मकालु गाउँपालिका गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका ओङ्दी शेर्पा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की मनकला राई विजयी भएका छन्।

सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपाल राज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ निर्वाचित भएका हुन्। चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्वू शेर्पा दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने उपाध्यक्षमा मनकला राई निर्वाचित भएकी छन्।

धर्मदेवी नगरपालिकाको प्रमुखमा एमालेका उदयचन्द्र पौडेल र उपप्रमुखमा कांग्रेसकी तारा महत विजयी भएकी हुन्। चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्ण कुमार तामाङ र उपप्रमुखमा एमालेकै एलिना श्रेष्ठले विजयी भएकी छन्।

दुई पालिका प्रमुख दोहोरिए

संखुवासभामा दुई पालिका प्रमुख दोहोरिएका छन्। एक नगर प्रमुख र एक पालिका अध्यक्ष पुनः दोहोरिएका छन्। पाँचखपन नगरपालिका प्रमुख विपिन राई र चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पा पुनः निर्वाचित भएका छन्। पाँचखपनका राई र चिचिलाका शेर्पा २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए।

मकालु गाउँपालिका अध्यक्षमा वाङ्दी शेर्पा निर्वाचित भएका छन्। शेर्पा २०७४ को निर्वाचनमा मकालु गाउँपालिका–१ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। त्यस्तै धर्मदेवी नगरपालिकाबाट २०७४ को निर्वाचनमा वडा नम्बर ६ को निर्वाचनमा एमालेबाट निर्वाचित वडा अध्यक्ष उदय चन्द्र पौडेल यस पटक नगर प्रमुख पदमा विजयी भएका छन्।

धर्मदेवी –१ मा जगतबहादुर कार्की, ३ मा श्याम पौडेल र ६ मा लक्ष्मीप्रसाद अधिकारी पुनः वडा अध्यक्षमा विजयी भएका छन्। त्यसैगरी दोहारिएका वडा अध्यक्षहरुको हारजित भएको छ। खाँदबारी नरपालिका वडा नं. १ मा निरञ्जन श्रेष्ठ, वडा नं. ८ मा डम्बरबहादुर कटुवाल र वडा नं. ३ का भरतकुमार घिमिरेले दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

घिमिरे उप निर्वाचनमा नेकपाबाट निर्वाचित भएका थिए। चैनपुर नगरपालिका–३ मा बलबहादुर अधिकारी, वडा ४ मा धनबहादुर तामाङ र वडा ५ मा काजी बहादुर लिम्बू पुनः निर्वाचित भएका छन्। मादी नगरपालिका–६ मा धन नारायण तामाङ पुन निर्वाचित भएका छन्।

त्यसैगरी पाँचखपन नगरपालिका–१ मा तेकबहादुर बुढाथोकी र वडा नम्बर ९ मा कुलबहादुर तामाङ दोहोरिएका छन्। सिलिचोङ गाउँपालिकामा वडा नम्बर १ बाहेका वडामा सबै वडा अध्यक्ष दोहोरिएका छन्।  वडा नं. २ मा मोहन संसेर राई, ३ मा प्रताप सिं तामाङ, ४ मा देवेन्द्र राई र ५ मा इश्वर राई पुन विजयी भएका हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित एक पालिका अध्यक्ष र एक उपाध्यक्षले यस पटक हारे व्यहोर्नु परेको छ। दोहोरिएका एक गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र १० जना वडा अध्यक्षले दोस्रो पटक हार व्यहोर्नु परेको छ।

सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बा, मकालु गाउँपालिका उपाध्यक्ष चमेली राई र मादी नगरपालिका–९ मा वडा अध्यक्ष भएका छिरिङ शेर्पा यस पटक उपमेयरमा पराजित भएका छन्।

वडा अध्यक्षमा सभापोखरी–५ का यम सुब्बा, ६ का विकास पौडेल र २ का डिकप्रसाद सुवेदीले हार व्यहोर्नु परेको हो। त्यसैगरी खाँदबारी नगरपालिका–६ मा दयानिधि बराल र ११ मा नगेन्द्र गुरुङले वडा अध्यक्षमा हार व्यहोरेका छन्।

चैनपुरमा नगरपालिका–८ मा भरत खड्का, १० मा तेजबहादुर कटुवाल र ११ मा धर्म चौहान पनि वडा अध्यक्षमा पराजित भएका छन्। त्यसैगरी भोटखोला गाउँपालिका–१ का तेन्छेवी शेर्पा पनि यस पटक पराजित हुन परेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.