|

विराटनगर : २०७४ सालको स्थानीय निर्वाचनतिर फर्किदा उनलाई नेतृत्व पंक्तिमा उभ्याउन आनाकानी गरेका थिए सबैले। त्यो वेला उनी ३७ वर्षका थिए। खाँदबारी नगरपालिका– १ को समग्र विकास र वडावासीको हितमा के काम गर्छ? भन्ने प्रश्नले उनलाई त्यो समय वडाध्यक्षको टिकट पाउन धेरै सकस थियो।

युवा जोश र ऊर्जालाई वडाध्यक्षको टिकट थमाउने समय नेतृत्वले नै धेरै पटक प्रश्न नउठाएको पनि होइन। ती विविध प्रश्नको चाङलाई पाखा लगाएर निर्वाचित भए निरञ्जन श्रेष्ठ। 

पाँच वर्षको कार्यकाललाई मतदाताहरूले समीक्षा गरे। उनकै नेतृत्वलाई मन पराएकै कारण संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा १ को वडाध्यक्षको रूपमा श्रेष्ठ (४२) पुनः यो पटकको निर्वाचनमा निर्वाचित भएका छन्।

हिजोका दिनमा के गर्न सक्ला र ? भन्ने प्रश्नको जवाफ उनले पहिलो कार्यकालमा काम गरेर उत्तर फर्काइसकेका छन्।  उनले गरेको कामको मूल्यांकनकै आधारमा पुनः वडावासीले सर्वाधिक मत दिएर नेतृत्वमा पुर्‍याएकाे छ।

विद्यार्थी कालदेखि नै राजनीति यात्रा आरम्भ गरेका निरञ्जनको बाल्यकाल राजनीति पृष्ठभूमिमै हुर्कियो। उनको हजुरबुवा राजनीतिमा सक्रिय भएकाले पनि उनलाई कलिलो उमेरमा नेतृत्वको बागडोर सम्हाल्ने आँटले वडाध्यक्षसम्म डोर्‍याएको उनी सुनाउँछन्। 

‘मलाई ०७४ सालको निर्वाचनमा टिकट पाउन धेरै सकस भएको थियो, यसले के गर्छ भन्ने प्रश्न आउँथ्यो,’ उनी विगत सम्झिन्छन्, ‘सबैभन्दा कामले जित्ने रहेछ, मैले खाँदबारी १ का वडावासीका लागि राम्रै काम गरे हुँला, त्यसैले मलाई पुनः जिताउनु भएको छ।’ 

गत निर्वाचनमा भन्दा यस पटको निर्वाचनमा उनी दोबर मतले विजयी भएका छन्।  त्यसो त उनी मुसुक्क हाँस्दै भन्छन्,‘वडावासीको मन जितेर नै मैले भोट जितेको हो जस्तो लाग्छ।’

केही समय सिकाइमा बित्यो

यसअघि आफू निर्वाचित भएर नेतृत्वमा पुग्दा केही समय सिकाइको क्रममा नै बितेको उनी सुनाउँछन्। संरचना अभाव, ऐन कानुन निर्माण नहुँदा कामले गति लिन नसकेका अनुभव उनीसँग धेरै छन्। त्योसँगै विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसले विकास निर्माणका कामलाई केही समय पछाडि धकेलेको उनी सुनाउँछन्। 

कोभिडले केही योजना रोकिए पनि वडावासीको सहयोगमा भने कुनै कसर नछाडेको उनी निर्धक्कसँग दाबी गर्छन्। ‘पाँचवर्षे कार्यकालमा दुई वर्ष राम्रोसँग काम गर्न पाएका थियौँ, केही सिकाइको क्रम रह्यो, दुई वर्ष कोभिडले योजना पछाडि धकेलिए’, उनले भने,‘तर, कोभिडले योजना रोकिए पनि जनताको समस्या सुल्झाउन कुनै कसर छोडिनँ।’ 

उनी फेरि थप्छन्, ‘जुन समय त्रासले सबै घरभित्र बसेका थिए, म त्यो वेला सबैका घरघर पुगेर सहयोग गरेको छु।’

उनका नयाँ योजना

अघिल्लो कार्यकालमा थाँती रहेका योजनाहरूलाई पूर्णता दिएर बाँकी विकासका योजना अगाडि बढाउने सोच उनको छ। नगरपालिका १ मा खानेपानी र ढल निर्माण गर्ने  पहिलो  उनको प्राथमिकता छ। त्यस्तै सडक पुग्न बाँकी रहेका क्षेत्रमा यही कार्यकालमा बजेटले भ्याएसम्म विकास निर्माणका काम सम्पन्न गर्ने योजना पनि उनको छ। 

पहिलो कार्यकाल विविध समस्या र सिकाइको क्रममा बिते पनि अबको अनुभव सहितको कार्यकालमा खाँदबारी-१ को समग्र विकासको काममा थप अझै धेरै गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ।

वडावासीको विश्वासले दिएको मतको सम्मान सहित थप अझै राम्रो काम गर्नुपर्ने आफूलाई चुनौती बढेको बताउँदै उनी भन्छन्, ‘वडावासीले दिनुभएको सर्वाधिक मतको सम्मान गर्दै अझै थप नयाँ योजना लिएर अगाडि बढ्नुपर्ने छ। यो मेरा लागि चुनौतीसँगै अवसर पनि हो।’ 
नगरपालिका वडा -१ मा पर्ने पुरानो बजार पोखरी बजारलाई पर्यटकीय हिसाबले विस्तार गर्ने योजना उनको छ।

दलभन्दा पनि आफूले नेतृत्व गरेको वडामा सबैलाई समान व्यवहार गरेकाले पनि आफूले विगतको निर्वाचनमा भन्दा दोब्बर मतले योपटक विजयी भएको उनी बताउँछन्। विकासको योजनादेखि लिएर वडावासीको समस्यालाई कुनै विभेद नगरेको बताउँदै उनी भन्छन्, ‘वडावासीले मलाई कुनै पार्टीको भन्दा पनि सबै वडावासीको अध्यक्ष भन्ने बुझाइले मलाई थप हौसला मिलेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.