रेशम चौधरीको पार्टीले तीन पालिका जित्यो

|

धनगढी : स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म कैलालीका १३ मध्ये ९ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक मत परिणाम अनुसार हालै दर्ता गरिएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी अग्रस्थानमा रहेको छ। उक्त पार्टी ३ स्थानीय तहमा विजयी भएको छ। यस्तै दोस्रोमा नेकपा एमाले र नेपाली कांग्रेस रहेका छन्।

कैलालीमा एमाले र कांग्रेसले अहिलेसम्म २‚ २ पालिका जितेका छन्। यस्तै नेकपा माओवादी केन्द्रले र नेकपा एकीकृत समाजवादीले भने एक एक पालिकामा प्रमुख जितेको छ। अब कैलालीका एक उपमहानगरसहित ४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक गर्न बाँकी छ।

नागरिक उन्मुक्ति पार्टीले जितेका पालिका

टीकापुर नगरपालिका

टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारू विजयी भएका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गर्दै डगौरा विजयी भएका हुन्। 

डगौरा ९ हजार ६४२ मत पाउँदै विजयी भएका हुन् भने रावलले ६ हजार ६४२ मत पाए। यस्तै उपप्रमुखमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन्।

शाहले ७ हजार ९५५ मत पाउँदा नागरिक उन्मुक्तिकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाइन्। २०७२ सालमा टीकापुरमा भएको घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशमलाल चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका थिए। 

भजनी नगरपालिका

भजनी नगरपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीबाट केवल चौधरी प्रमुख र उपप्रमुखमा राजु तिरुवा विजयी भएका छन्। उनीहरूले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई हराएका छन्। अन्तिम परिणाम आएको भए पनि आधिकारिक रूपमा घोषणा गर्ने तयारी भइरहेको बताइएको छ।

जोशीपुर गाउँपालिका

कांग्रेसको पकड क्षेत्र मान्दै आएको कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन्। ४ हजार ९ सय ३ मत प्राप्त गरी चौधरी विजयी भएका हुन्।

नेपाली कांग्रेसका बन्सराम बडायक थारूले ३ हजार ३६८ मत प्राप्त गरेका छन्। गाउँपालिकाको उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन्। उनले ४ हजार ५८९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजार ९६१ मत पाएका छन्।

एमालेले जितेका पालिका

बर्दगोरिया गाउँपालिकाका अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कुँवर विजयी भएका छन्। कुँवरले ५ हजार ८४२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शेरबहादुर कठरियाले ४ हजार १८६ मत ल्याएका छन्।

उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गणेशराज गिरी विजयी भएका छन्। गिरीले ४ हजार ५६९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी इन्दु कठरियाले ४ हजार २५५ मत मत ल्याइन्।

चुरे गाउँपालिका

चुरे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्रबहादुर बोगटी निर्वाचित भएका छन्।

बोगटीले तीन हजार ३०५ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारू मगरले तीन हजार २८१ मत ल्याएका छन्। गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धन तर्फबाट नेपाली कांग्रेसकी धना थापा निर्वाचित भएकी छन्।

थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत ल्याइन्। त्यसैगरी छ वटा वडा रहेको यो गाउँपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसले वडाध्यक्ष र अन्य सबै वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन्।

नेपाली कांग्रेसले जितेका पालिका

कैलारी गाउँपालिका

कैलारी गाउँपालिकामा गठबन्धनबाट कारबाहीमा परेका कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको भन्दै कारबाहीमा परेका कांग्रेसका राजसमझ चौधरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्।

उनले गठबन्धनका आधिकारिक उम्मेदवार माओवादीका लाजुराम चौधरीलाई पराजित गरेका हुन्। राजसमझले १० हजार ४९२ मत पाए भने लाजुरामले ६ हजार ४३० मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन्।

उनले १० हजार ४८४ मत ल्याएर निवर्तमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारूलाई पराजित गरेकी छन्। उम्मेदवारी फिर्ता लिने वेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा कांग्रेसका तर्फबाट अध्यक्षमा राजसमझको उम्मेदवारी कायम रहेको थियो। उनी रूख चिह्नबाटै चुनाव लडेका थिए। 

गोदावरी नगरपालिका

गोदावरी नगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयर पदमा नेकपा एमाले विजयी भएको छ। मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरेन्द्र भट्ट विजयी भएका छन् भने उपमेयरमा एमालेकी शारदा रोकाया विजयी भएकी छन्। 

मेयरमा विजयी भट्टले १५ हजार ५०१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका गोर्कण भट्टले ११ हजार २२४ मत मात्रै पाएका छन्। यस्तै उपमेयरमा विजयी एमालेकी रोकायाले १० हजार ६७० मत ल्याएकी छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन्।

कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो। गोदावरी एमालेका केन्द्रीय सचिव लेखराज भट्टको गृहनगर हो। यस्तै एमालेबाट मेयरका उम्मेदवार रहेका गोकर्ण भट्ट लेखराजका भाइ समेत हुन्।

माओवादी केन्द्रले जितेको पालिका 

मोहन्याल गाउँपालिकाको अध्यक्ष नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय ‘हिमशिखर’ विजयी भएका छन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन्।

उनी ४१९ मतान्तरले विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धरम थापा मगरले दुई हजार ७१५ मत प्राप्त गरे। थापा २०७४ सालको निर्वाचनमा माओवादीका तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए।

तर, एमालेका नवलसिंह रावल (हाल स्वर्गीय)​ सँग पराजित भए। यो पटक उनी एमाले प्रवेश गरेर पुनः अध्यक्षका उम्मेदवार बने पनि जित हात पार्न सकेनन्।  त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका कमल साउद निर्वाचित भएका छन्। उनले तीन हजार ३३९ मत प्राप्त गरे।

उनका अधिकतम प्रतिद्वन्द्वी एमालेका सरस्वतीदेवी रावल विष्टले दुई हजार ३०३ मत प्राप्त गरिन्। मोहन्यालमा पालिका प्रमुख र उपप्रमुखमा कांग्रेस–माओवादीले गठबन्धन गरेको थिए भने वडामा प्रतिस्पर्धा गरेका थिए।

एकीकृत समाजवादीले जितेको पालिका 

घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीले जित हासिल गरेको छ। नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका छन्। रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए। २०७४ को चुनावमा मेयर जितेका चौधरी यसपटक पराजित भएका हुन्।

उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करुणादेवी बटालालाई हराएकी हुन्। चौधरीले १२ हजार २७० मत पाएर विजयी हुँदा बटालाले ६ हजार ९६३ मत पाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.