|

हेटौंडा : वनस्पति अनुशन्धान केन्द्र मकवानपुर अथक प्रयासपछि दुर्लभ वनस्पति भोटेलहराको बिरुवा उमार्न सफल भएको छ। ६ महिनादेखि प्रयासरत रहेको अनुसन्धान केन्द्र अहिले आएर सफल भएको हो।

सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापार महासन्धि साइटिसको अनुसूची–३ मा सूचीकृत दुर्लभ वनस्पति ‘भोटेलहरा’ एक वर्षदेखि खोजी गर्दै आएकोमा हाल बिउ नै उमार्न सफल भएको केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिए। यो एन्जिओस्पर्म जस्तै देखिने जिम्नोस्पर्म वर्गको वनस्पति हो।

भोटेलहराको बिरुवाको कटिङ तथा पात कटिङ गरेर उमार्ने प्रयास गर्दै आएकोमा अन्ततः फलको बिउ नर्सरी गरेर उम्रिएको उनको भनाइ छ। उनले भोटेलहरा हालसम्म मकवानपुरको तीन ठाउँमा रहेको पुष्टी भएको पराजुलीले जानकारी दिए। जिल्लाको बागमती गाँउपालिका–८ भुवनचुली, बकैया गाउँपालिका र मनहरी गाँउपालिकामा भोटेलहरा भेटिएको हो।

ती ठाउँमा भेटिनुअघि मकवानपुरको हेटौंडादेखि लोथरसम्म, राक्सीराङ, भैंसे, फापरबारी, गढी गाँउपालिकालगायत विभिन्न ठाउँमा समेत तीव्र खोजी ​ गरिएको थियो। पराजुलीले भोटेलहरा चिन्न शुरुमा तनहुँको ढोरबाराही क्षेत्रमा पुगेर आफूहरूले भोटेलहरा निश्चित गरेको जानकारीसमेत दिए।

मकवानपुरमा पनि खोजी जारी राख्दा प्राकृतिक रुपमा भोटेलहरा भेटिएको भन्दै उनले खुशी व्यक्त गरे। हालसम्म नेपालको संखुवासभा, तनहुँ र मकवानपुरबाहेक भोटेलहरा अन्य ठाँउमा नभेटिएको उनको दाबी छ।

धेरै वर्ष अगाडि मकवानपुरमा भोटेलहरा रहेको अभिलेखको आधारमा लोपोन्मुख बिरुवाको प्रजाति संरक्षण गर्न आफूहरूले भोटेलहरा खोजेको उनको भनाइ छ। नेपालमा साइटिस अन्तर्गत ३ वटा सूचीमध्ये भोटेलहरा तेस्रो सूचीमा पर्छ‚ जुन सूचीमा रहेका बोटबिरुवा दुर्लभ वनस्पतिका रुपमा चिनिन्छ।

प्रमुख पराजुली भन्छन्, ‘संसारमा मानिसको संख्या दिन प्रतिदिन बढ्दो छ। मानिसका चाहना  पनि तीव्र गतिमा बढ्दै छन्। त्यसले गर्दा वन–जंगल, सिमसार, घाँसे मैदानलगायत विभिन्न प्राकृतिक क्षेत्र साँघुरिनेबाहेक फैलने कुनै लक्षण छैन। त्यसैले दुर्लभ तथा लोप हुने अवस्थामा पुगेका वनस्पतिहरूको वासस्थान संरक्षणमा जोड दिने हाम्रो उद्देश्य हो।’

उनले अब भोटेलहरा उमार्नुसँगै वासस्थान संरक्षण चुनौतिपूर्ण रहेको बताए। वनस्पति भेटिएको स्थानका व्यक्तिहरूसँग भोटेलहराको महत्व र यसको वासस्थान संरक्षण के कसरी गर्ने भन्ने विषयमा छलफलसमेत गरेको उनको भनाइ छ। यसको वासस्थान संरक्षण गर्न स्थानीय तह, सम्बन्धित सामुदायिक वन र वनस्पति अनुसन्धान केन्द्र सबै निकाय मिलेर अगाडि बढ्ने र स्थानीयमाझ यसको जानकारी गराइ चरिचरन तथा घाँसपातबाट हुने जोखिम न्यूनीकरणको पहल गर्ने पराजुलीले बताए।

यसबाट एकातिर यो दुर्लभ वनस्पतिको बासस्थान संरक्षण हुनेछ भने अर्कोतर्फ वनस्पति पर्यटन गन्तव्यको रुपमा उक्त क्षेत्र विकास हुने प्रबल सम्भावना रहेको कार्यालय प्रमुख पराजुली बताउँछन्। उनका अनुसार भोटेलहराको एउटा मात्र गुण नहुन सक्छ। यसलाई समाजको संरचनाले मनोरञ्जन स्थलका रूपमा उद्यान निर्माण गरेर, विभिन्न किसिमका फूल लगाएर सजावट गरेर त्यसमा संस्कृति समावेश गरी मनोरञ्जन दिन र संस्कृतिलाई धान्ने परम्परा पनि बन्न सक्छ।

के हो भोटेलहरा?

वरिष्ठ वैज्ञानिक पराजुलीका अनुसार भोटेलहरा सङ्कटापन्न सूचीमा रहेको वनस्पति हो। नेपालमा यसको प्राकृतिक उपलब्धता सुनिश्चित गर्नुमै यसको महत्व रहेको उनको भनाइ छ। वनस्पति विज्ञानमा निटासी परिवारमा पर्ने निटम जातिको वनस्पतिका विश्वभर करिब ४० प्रजाति मात्र रहेको अध्ययनले देखाएका छन्।

सोमध्ये नेपालमा पाइने प्रजाति निटुमोन्टलम हो। यसको स्थानीय नाम भोटेलहरा हो। सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापार महासन्धी (साइटिस महासन्धी), २०७३ को पक्षराष्ट्र भएका कारण यसको कार्यान्वयनका लागि नेपालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्ने ऐन २०७३ र नियमावली २०७६ ल्याएको छ।

साइटिस महासन्धीमा रहेका ३ अनुसूचीमध्ये भोटेलहरा अनुसूची ३ मा पर्दछ। भोटेलहरा ढिलो बढ्ने सदावहार वनस्पति हो। यो एक लहरा खालको वनस्पति हो। भाले र पोथी बिरुवा अलग अलग हुने भएका कारण यिनीहरूमा परागसेचन हुन नसकेर पनि यो प्रजातिका नयाँ बिरुवा विस्तार नभएको पराजुलीको भनाइ छ। यसको फल दम खोकीमा उपयोगी हुने अध्ययनले देखाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.