‘जनताले स्वतन्त्र उम्मेदवारलाई मत दिनु पार्टीभित्रको अन्तर्घात होइन’

|

काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत् रहेको दाबी गरेका छन्। प्रतिनिधिसभा बैठकका लागि बिहीबार संसद भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेको जनमत यथावत् रहेको बताएका हुन्। 

उनले अन्य पार्टीसँग थोरै मतान्तर रहेका ठाउँहरूमा गठबन्धनका कारण एमालेको पराजय भएको बताए। एमालेको ४८ सालदेखि आएको जनमत यस निर्वाचनबाट पनि तलमाथि नभएको उल्लेख गरे। 

उनले भने, ‘हामी समग्र देशैभरिको तथ्यहरू संकलन गरिरहेका छौँ। हाम्रो समग्र जनमत यथावत् छ। तर अब ५ सय, १ हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरूमा एउटा अर्को पार्टी थपिनेबित्तिकै त्यसले परिणाममा त फरक पार्ने भो। हाम्रो जुन औसत जनमत हो, लोकप्रिय मत नेकपा एमालेले करिब–करिब ४८ सालको निर्वाचनदेखि नै त्यो मतमा प्रारम्भिक ट्रेन्डहरू हेर्दा हाम्रो जनमतमा तलमाथि भएको म देख्दिनँ।’

उनले कतै कतै पार्टीको आन्तरिक कारणहरूले पनि पार्टीले हारेको भन्दै त्यसको समीक्षा गर्ने बताए। संसदको यस अधिवेशनमा संवेदनशील खालका विधेयकहरू टुंग्याउनुपर्ने र त्यसमा एमालेको सहयोग हुने बताए।

‘सरकारले विधेयक ल्यायो भने पास गर्न हाम्रो सहयोग चाहेमा हामीसँग परामर्श हुनुपर्‍यो। मुख्य मुख्य र संवेदनशील खालका विधेयकहरूको छिटो टुंगो लागोस् भन्ने चाहन्छौँ। त्यसमा हाम्रो रचनात्मक सहयोग रहन्छ‚’ उनको भनाइ छ। 

उनले नेकपा एकीकृत समाजवादीलाई सभामुख र अदालतले बचाइदिएको भएपनि जनताले नबचाएको टिप्पणी गरे। 

अर्का नेता भीम रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको विभिन्न पाटाहरु भएको बताए। एमालेको विभाजन पनि हारको कारण भएको उनको भनाइ छ। पार्टीहरूप्रति जनताले हेर्ने दृष्टिकोण र वितृष्णा रहनु अर्को कारण भएको उनले उल्लेख गरे। पार्टीभित्रै अन्तर्घात हुनु पनि अर्को कारण रहेको उनले बताए। 

‘एमालेको हकमा विभाजनदेखि लिएर अरु धेरै कुराहरूको हामीले चर्चा गर्नुपर्ने हुन्छ। साथै नेपालमा राजनीतिक दलहरूप्रति लामो समयदेखि जनतामा रहेको तृष्णा त्यो पनि विभिन्न ठाउँमा, जस्तो राजधानी काठमाडौंमा, सुदूरपश्चिमको राजधानी धनगढीमा, जनकपुरमा यो पटक भएको छ‚’ उनले भने, ‘त्यसकारण यसलाई पार्टीहरूप्रति जनताले हेर्ने दृष्टिकोण र त्यसप्रतिको वितृष्णा, त्यसका साथसाथै पार्टीहरूभित्र रहेका घात र अन्तर्घात। यी विभिन्न कोणबाट केलाउनु पर्ने हुन्छ‚’ उनले भने।

एमाले सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाए। गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको उनको दाबी छ। उनले पार्टी हारको कारण उम्मेदवार छनोटमा भएको कमजोरी रहेको बताए। 

कतिपय ठाउँमा पार्टीलाई जिताउन नलागी विरोधीलाई जिताउन साँठगाँठ गरिएको आरोप लगाए। 

उनले भने, ‘यसपटकको निर्वाचन हेर्दा मूलत: एमालेविरुद्ध जुन गठबन्धन बनाइयो, एक। दुई, एमालेविरुद्ध राज्यसत्तालाई दुरुपयोग गरियो- पुलिस प्रशासन, कर्मचारीतन्त्रदेखि लिएर अन्य विभिन्न निकायहरूलाई। यो परिस्थितिमा एमालेले जुन परिणाम ल्याएको छ‚ यो कुनै निराशाजनक परिणाम होइन।’

काठमाडौं महानगरपालिकामा कांग्रेस, एमालेलगायत ठूला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी भएको टिप्पणी उनले गरे। 

एमाले सांसद रामवीर मानन्धरले काठमाडौँ महानगरपालिकामा विगत ५ वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरूलाई भोट नदिएको बताए। स्वतन्त्रलाई जिताएर काठमाडौंवासीले परिक्षण गर्न खोजेको उनको तर्क छ। 

‘पाँच वर्षसम्म केही काम परेर वडामा जाँदा त्यहाँ ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता सबै काममा दुःख पाए सबै जनताले। अनि पार्टीका मान्छेहरूले हामीलाई दुःख दियो भन्ने कुरा जनतामा मैले सुनेको आभास पाएँ‚’ उनले भने, ‘त्यसकारणले यो पार्टीमा लागेका वडा अध्यक्ष, मेयरहरूले दुःख दिएको कारण एकपटक हेरौँ न त पार्टीभन्दा स्वतन्त्र कस्तो हुँदोरहेछ भनेर परीक्षण गरेको जस्तो मलाई लाग्यो। २/४ जनाको भोट हो र अन्तर्घात भनेको! २/४ सयले हारजित भएको हो र? त्यसकारण हजारौँ होइन लाखौँ जनताको मतलाई अन्तर्घात भन्ने हो भने अन्तर्घात स्वीकार्नुपर्छ।’

लाखौँ जनताले स्वतन्त्र उम्मेदवारलाई मत दिइसकेपछि त्यसलाई पार्टीभित्रको अन्तर्घातका कारण त्यसो भएको भन्न नमिल्ने उनको मत छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.