|

काभ्रे : यतिवेला जिल्लाको चिया पसल, चोकदेखि सार्वजनिक सवारी साधनसँगै विभिन्न कार्यालयसम्म निर्वाचनकै चर्चा छ।

काभ्रेमा स्थानीय तह निर्वाचनको अन्तिम नतिजा धमाधम आइरहँदा सर्वसाधारणदेखि दलका नेता कार्यकर्ता आफ्नो समर्थन विजय भए कि हार व्यहोर्नु पर्‍यो, भन्ने चासोसहित फेसबुक लगायतका समाजिक सञ्जालदेखि रेडियो र टेलिभिजनमा मत परिणाम हेर्न र सुन्न व्यस्त छन्।

काभ्रेका १३ मध्ये गाउँपालिका ५ र नगरपालिका ३ गरी ८ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेका छन्। यस्तै धुलिखेल नगरपालिका, पाँचखाल, पनौती र महाभारत गाउँपालिकाको भने केही वडाको नतिजा आइसके पनि केहीमा मतगणना जारी छ।

निर्वाचन कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा रहेका १३५ वडा मध्ये ११४ वडाको अन्तिम मत परिणाम आइसकेका छन्। शनिबारसम्म सबै पालिकाको अन्तिम नतिजा आइसक्ने निर्वाचन कार्यालय काभ्रेले जनाइएको छ।​

यसैबीच अन्तिम मत परिणाम सार्वजनिक भएका केही पालिकामा भने प्रमुख र उपप्रमुखका उम्मेदवारले प्रतिस्पर्धीलाई दोब्बर बढी मतले पराजित गरेका छन्। 

यस्तैमा नमोबुद्ध नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्साङ लामाले निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भुर्तेललाई दोब्बरभन्दा बढी मतान्तरले पछि पार्दै विजय हाँसिल गरेको छ।

लामाले ११ हजार २११ मत ल्याई नगर प्रमुखमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी भुर्तेल ५ हजार ८२२ मतमै सीमित बने। लामा र भुर्तेलले पाएको मत अन्तर ५ हजार ३८९ रहेको छ। लामा कांग्रेस नमोबुद्ध नगर सभापति हुन् भने भूर्तेल एमाले जिल्ला सचिव हुन्।

नगरपालिकाको उपप्रमुखमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रत्नबहादुर लामा ८ हजार १८७ मत ल्याई विजय भएका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा नगरपालिकाको नगरप्रमुख र उपप्रमुख जितेको एमालेले यसपटक दुवै गुमाउनु परेको हो।

त्यस्तै चोरी देउराली गाउँपालिकामा गठबन्धनकै उम्मेदवार कांग्रेसका शेरबहादुर लामा प्रत्यासीको भन्दा दोब्बर बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रत्यासी नेकपा एमालेका बबिता खरेलले भन्दा ३ हजार ६७० मत बढी ल्याएर विजय भएका हुन्। 

गाउँपालिका उपाध्यक्ष लामाले ७ हजार २१९ मत प्राप्त गर्दा उनका प्रत्यासी एमालेकी खरेलले ३ हजार ५४९ मत ल्याएकी छिन्। उक्त गाउँपालिकाको अध्यक्षमा भने नेकपा माओवादी केन्द्रकी रेणुका चौलागाईं ६ हजार २२८ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्।

अघिल्लो निर्वाचनमा सो गाउँपालिकको अध्यक्ष र उपाध्यक्ष दुबै माओवादी केन्द्रले जितेको थियो।

त्यसैगरी मण्डनदेउपुर नगरपालिकामा गठबन्धनकै उम्मेदवार कांग्रेसका विष्णुमणि नेपाल प्रतिस्पर्धी एमालेकी सरिता ढकालको भन्दा करिब दोब्बर मतले उपाध्यक्षमा विजय भएका छन्।

नेपालले ११ हजार ३०५ मत प्राप्त गर्दा एमालेकी ढकालले ६ हजार ९२४ मत प्राप्त गरेकी छिन्।

सो नगरपालिकाको प्रमुखमा गठबन्धन बाटै एकीकृत समाजवादीका टोक बहादुर वाइबा ९ हजार ४०६ मत ल्याएर विजय भएका छन्। एकीकृत समाजवादी काभ्रेका अध्यक्ष समेत रहेका उनी दोस्रो पटक उक्त नगरपालिकाको मेयर बनेका हुन्। 

प्रत्यासीको भन्दा दोब्बर मत ल्याएर विजय भएका तीनै जना गठबन्धन बाटै उम्मेदवार बनेका कांग्रेसका नेताहरु हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.