काठमाडौं : यौन हिंसा केसमा विवादमा तानिएकी पूर्व मिस नेपाल माल्विका सुब्बाले आफ्नो गल्ती स्वीकार्दै माफी मागेकी छन्। पीडित युवतीको भिडियो भाइरल भएपछि विवादमा तानिएकी सुब्बाले बिहीबार आफ्नो सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै माफी मागेकी हुन्।
पीडित युवतीले पाएको दुःखको कारण आफू पनि भएको स्वीकार गर्दै उनले लेखेकी छन्, 'म सबैकुरा क्लियर्ली सम्झिन्न। तर, यति सम्झिन्छु कि तिमी मसँग एब्युजरको बारेमा कुरा गर्न खोज्दै थियौँ र म यो पनि सम्झिन्छु कि तिमीलाई चाहिएको बेलामा मैले कुनै सहयोग गरिनँ।
यो अक्षम्य छ। म तिमीले क्षमा गर भन्न पनि चाहन्न। तर, म यति भन्न चाहन्छु कि म एकदमै क्षमा प्रार्थी छु तिमीलाई राम्रोसँग नसुनेकोमा, तिमीलाई विश्वास नगरेकोमा र तिमीलाई सहयोग नगरेकोमा।
आफू अहिले पाइरहेको घृणाको लायक रहेको र अब आफैले पनि आफूलाई पहिले जसरी हेर्न नसक्ने उनले बताएकी छन्। साथै पीडितको न्यायका लागि अब आफ्नो तर्फबाट गर्न सक्ने सबै गर्ने पनि बताएकी छन्।
८/९ वर्ष अगाडि पीडित युवतीले फोन गर्दा आफू आफ्नै व्यक्तिगत समस्या, वैवाहिक सम्बन्ध आदिका कारण आफैँ मानसिक समस्याबाट गुज्रिरहेका कारण आफू सहयोग गर्ने अवस्थामा नरहेको उनले बताएकी छन्। तर, त्यसो भनेर आफ्नो गल्ती कम नहुने पनि उनले स्वीकार गरेकी छन्।
'मैले अलि लामो संवाद गर्नुपर्थ्यो, भेट्नुपर्थ्यो, उनको हात समात्नु पर्थ्यो अँगालो मार्नुपर्थ्यो। उनको लागि उभिनु पर्थ्यो। केही गर्नुपर्थ्यो। उनले भने जस्तै आर यु अल राइट भनेर एकपटक सोध्नुपर्थ्यो', उनले भनेकी छिन्, 'तर मैले गरिनँ। पछिल्लो ८, ९ वर्षमा पनि मैले उनका लागि केही गर्न सक्थेँ तर गरिनँ। मैले अहिले पाइरहेको घृणाको लागि म योग्य छु। किनकि एउटा महिलाको रुपमा, एउटा मान्छेको रुपमा, एउटा प्रभावशाली व्यक्तिका रुपमा म असफल भएको छु।'
यसपालि मौन नबस्ने पीडित युवती र उनी जस्ता सबैका लागि गर्न सक्ने सबै काम गर्ने प्रतिवद्धता जनाउँदै सबैसँग माफी पनि मागेकी छन्। साथै लैंगिक सामानता, नारीवादी, यौन हिंसा विरुद्धका कुनै पनि कार्यक्रममा सहभागी हुन आफू योग्य नरहेको जिकिर गर्दै अब असल मान्छे बन्ने प्रयास गर्ने उनले बताएकी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।