|

सल्यान : सल्यानमा क्रियाशील राजनीतिक  दलका ठूला नेताहरू नै स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्। जिल्लाका ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष तथा जिम्मेवार नेताहरू नै स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा थोरै मतले ध्रुवराज पुरीसँग विजयी भएका नेपाली कांग्रेसका जिल्ला सभापति केशव बहादुर विष्टले छत्रेश्वरी गाउँपालिका सल्यानमा नेकपा एमालेका जिल्ला सचिव ओज बहादुर बुढाथोकीसँग १ हजार २ सय ६९ मतले पराजित भएका छन्।

नेकपा एमाले जिल्ला सचिव ओजबहादुर बुढाथोकीले ३ हजार ८ सय ९२ मत प्राप्त गरे भने नेपाली कांग्रेसका जिल्ला सभापति केश वहादुर विष्टले २ हजार ६ सय २३ मत प्राप्त गरे।

कांग्रेसका जिल्ला सभापतिसमेत रहेका केशबहादुर विष्ट चुनाव लडेपछि छत्रेश्वरीलाई चासोका साथ हेरिएको थियो। विष्ट निवर्तमान जिल्ला समन्वय समिति सल्यानको प्रमुखसमेत हुन्।

जिल्ला समन्वय समितिको प्रमुखबाट राजीनामा दिएर छत्रेश्वरी गाउँपालिका अध्यक्षमा लडेका विष्ट गाउँपालिका अध्यक्षमा पराजित भए भने उनकै वडामा कांग्रेसले जित हासिल गर्न सकेन।

यस्तै, वनगाड कुपिण्डे नगरपालिकामा पनि नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द कुमार पुन  पराजित भए। २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेससग गठवन्धन गरेर थोरै मतले विजयी भएका पुन यसपटक भने पराजित भएका छन्।

नेकपा माओवादी केन्द्रका कर्णली प्रदेश उपाध्यक्ष कर्णबहादुर बुढाथोकीसँग जिल्ला अध्यक्ष गोविन्दकुमार पुन २ हजार ७ सय ४६ मतले पराजित भएका छन्। कर्णबहादुर बुढाथोकीले ७ हजार ४ सय ६६ मत ल्याएका छन् भने पुनले ४ हजार ७ सय २० मत प्राप्त गरे। २०७४ को स्थानीय चुनावमा माओवादीका उम्मेदवार बुढाथोकीलाई पराजित गरी मेयर पदमा निर्वाचित भएका पुन यस पटक भने बुढाथोकीसँगै फराकिलो मतान्तरले पराजित भए।

यस्तै, नेकपा एमालेका कर्णाली प्रदेश कमिटी मनोज प्रधान पनि पराजित भएका छन्। नेपाली कांग्रेसका सल्यानका सचिव प्रकाश भण्डारीसँग १ हजार १ सय ९० मतले  प्रधान पराजित भएका हुन। कांग्रेसका उम्मेदवार प्रकाश भण्डारीले ६ हजार १ सय २७ मत ल्याएर विजयी भएका हुन्।

एमालेको उम्मेदवार मनोज प्रधानले ४ हजार ९ सय ३७ ल्याए। प्रधान २०७४ को स्थानीय निर्वाचनमा राप्रपाको तर्फबाट शारदा नगरपालिकाको मेयरमा उठेका थिए 

यस्तै, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृति बहादुर पुनले पनि पराजित भएका छन्। जिल्लाको बागचौर नगरपालिकाको मेयर पदमा उठेका पुन नेपाली कांग्रेसका जनक गौतमसँग ४२३ मतको अन्तरले पराजित भए। कांग्रेसका गौतमले ६ हजार २७ मत ल्याएर निर्वाचित हुँदा माओवादीका पुनले ५ हजार ५ सय ९४ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.