|

काठमाडौं :अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक अजरा जिया काठमाडौँ आइपुगेकी छन्।

उपविदेशमन्त्री जिया भारत भ्रमण सकेर आज नयाँदिल्लीबाट काठमाडौं आइपुगेकी हुन्। उनी मंगलबार नयाँदिल्ली आएकी थिइन्। उनीसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एशिया मामिला हेर्ने डेपुटी असिस्टेन्ट एडमिनिस्ट्रेटर अञ्जली कौर पनि आएकी छन्।

उपविदेशमन्त्री जियाको नेपाल भ्रमण अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो।नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वार्षिकीको अवसर पारेर उनी नेपाल भ्रमणमा आएकी हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनको तिब्बत मामिला हेर्ने विशेष संयोजकको भूमिकामा समेत पाएकी जियाले तीन दिन काठमाडौंमा रहँदा प्रधानमन्त्री देउवा सहित उच्च अधिकारीलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ।

पछिल्लो समय नेपालमा उच्च अमेरिकी कूटनीतिज्ञहरूको भ्रमण बाक्लिदै गएको छ। गत फागुन १७ गते नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)पारित गरेसँगै अमेरिकाबाट नेपाल भ्रमणको संख्या बढेको छ।

गत वैशाख पहिलो सातामात्रै अमेरिकी उपसहायकमन्त्री केली केइडरलिङ नेतृत्वको टोलीले नेपाल भ्रमण गरेको थियो। उक्त टोलीले लुब्बिनी सहितको भ्रमण गरेर स्वदेश फर्किएको थियो। केइडरलिङको टोली फर्किएलगत्तै वैशाखको दोस्रो साता अमेरिकाबाट नेपाल भ्रमणका लागि सांसदहरूको टोली आएको थियो।

९ वैशाखदेखि ११ सम्म अमेरिकी संसद्का पाँच सदस्य नेपाल भ्रमणमा आएका थिए। अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य किस्टर्न जिलिब्राण्डको नेतृत्वमा सेल्डन ह्वाइटहाउस, केरी ब्रुकर, मार्क केली र तल्लो सदन प्रनिधिनिसभा सदस्य मोण्डेयर जोन्स काठमाडौं आएका थिए।

दलाई लामालाई भेटेर काठमाडौं आइन् जिया

चीन र दलाई लामा वा उनका प्रतिनिधिबीच निःशर्त संवादलाई प्रोत्साहन गर्ने जिम्मेवारी समेत पाएकी उपविदेशमन्त्री जिया भारत आएकी थिइन्। भारतमा रहँदा उनले हिमाचल प्रदेशको धर्मशालामा निर्वासित जीवन बिताउँदै आएका तिब्बती धर्म गुरु दलाई लामालाई भेटेर नेपाल आएकी हुन्। जिया र दलाई लामाको भेट बाइडेन राष्ट्रपतिमा नियुक्त भएयता तिब्बत हेर्ने वरिष्ठ अमेरिकी उच्च अधिकारी पहिलोपटक प्रत्यक्ष भेट हो। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जियालाई गत डिसेम्बर २० मा तिब्बती मामिला हेर्ने विशेष संयोजक नियुक्त गरेका थिए।

प्रधानमन्त्री सहित उच्च सरकारी अधिकारीलाई भेट्दै
शुक्रवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसको जानकारी समेत दिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी विदेश उपमन्त्रीको यो भ्रमण अमेरिकी अधिकारीहरुको एक दशकपछिकै उच्चस्तरीय भ्रमण हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले तीनदिने नेपाल भ्रमणका क्रममा विदेशउपमन्त्री जियाले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतका उच्चपदस्थ व्यक्तित्वहरूसँग भेट गर्ने कार्यतालिका रहेको समेत बताइन्। भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा कुराकानी हुने प्रवक्ता लम्सालको भनाइ छ।

प्रवक्ता लम्सालले भनिन्, ‘उहाँ तीनदिने भ्रमणका क्रममा नेपाल आउनु भएको हो, प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतका उच्च पदस्थ व्यक्तित्वसँग भेट गर्नुहुनेछ। उहाँले  द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा कुराकानी हुनेछ।’

दलाई लामालाई भेटेपछि चीन रुष्ट

यता अमेरिकी उपविदेशमन्त्रीले दलाई लामासँग भेटेको समाचार सार्वजनिक भएपछि चीनले आपत्ति जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चाओ लिच्यानले भनेका छन्, ‘तथाकथित ‘निर्वासित तिब्बती सरकार’ एक बाहिर र बाहिर पृथकतावादी राजनीतिक समूह हो र चीनको संविधान र कानुनको पूर्णरूपमा उल्लङ्घन गर्ने एक अवैध संगठन हो। यो संसारको कुनै पनि देशद्वारा मान्यता प्राप्त छैन।’

दलाई लामाले धर्मको आवरणमा राजनीतिक गतिविधि गरिरहेको समेत प्रवक्ता लिच्यानले बताएका छन्।


यता तिब्बत मामिला समेत हेर्ने अमेरिकी उपविदेशमन्त्री नेपाल आउने लागेपछि केही दिनअघि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणलाई समेत भेटेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.