|

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असीम राईले आफूले सरकारबाट पाउने सेवा–सुविधाबाट पालिकाभित्रको एक जना जेहनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गरेका छन्।

गाउँपालिका अध्यक्षका रूपमा आज दोस्रो कार्यकालको पदभार ग्रहण गर्दै अध्यक्ष राईले आफूलाई प्राप्त हुने सबै सेवा–सुविधा पालिकाभित्रका गरिब तथा जेहनदार  विद्यार्थीलाई एमबीबीएस पढाउन खर्च गर्ने घोषणा गरेका हुन्।

यस्तै उनले कार्यभार सम्हालेपछि गाउँपालिकामा वातावरण मैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसका लागि चार्जिङ स्टेशन बनाउने निर्णय पनि गरेका छन्।

पेट्रोलियम पदार्थको मूल्य बढिरहेको र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताए।

गाउँपालिकको सबै वडा तथा टोलमा सडक विस्तार भइसकेकाले विद्युतीय बस सञ्चालनका लागि आफूहरू तयार रहेको उनको भनाई छ। अध्यक्ष राई २०७४ सालको स्थानीय चुनावमा पनि गाउँपालिका अध्यक्षको रूपमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.