|

काठमाडौं :राष्ट्रिय खेलाडी र प्रशिक्षकबीचको विवाद छानबिन समितिले प्रतिवेदन बुझाए पनि विवाद नसुल्झिँदै प्रशिक्षक अब्दुल्ला अल-मुताइरीले राष्ट्रिय टिमको घोषणा गरेका छन्। कुवेतमा हुने एएफसी एशियन कप २०२३ को छनोटका लागि नेपाली टोलीमा कप्तान किरण चेम्जोङसहित प्रशिक्षण बाहिर रहेका ११ खेलाडीलाई समावेश गरिएको छैन।

अल-मुताइरीले शुक्रबार २३ सदस्यीय अन्तिम टोली घोषणा गर्दा अनुभवी खेलाडीको कमी छ भने गोलरक्षकहरू पनि सबै नयाँ अनुहार रहेका छन्। घोषित टोलीमा मुख्य प्रशिक्षक अल-मुताइरीकै कारण प्रशिक्षण क्याम्प छाड्न बाध्य भएका १० जनासहित कप्तान किरणलाई समेटिएको छैन। साथै माल्दिभ्सका लिग खेलिरहेका कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई पनि प्रशिक्षक अल-मुताइरीले टोलीमा समेटेका छैनन्।

खेलाडीले सामान्य खाने बस्ने विषय उठाउँदा अल-मुताइरीले १० खेलाडीलाई क्याम्प छाड्न निर्देशन दिएका थिए। प्रशिक्षणसँगै टोलीले नेपालमै रहेका क्यामरुनको एभेनिर एफसीसँग ४ मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा २ बराबरी र एउटामा जित र एउटामा हारको नतिजा निकालेको थियो।

यो अवधिमा सेनाका अवकाशप्राप्त भिक्टर राणा संयोजक रहेको छानबिन समितिले बुधबार २८ पृष्ठ लामो प्रतिवेदन एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका थिए। तर छानबिन समितिको निर्णय सार्वजनिक नहुँदै प्रशिक्षक अल-मुताइरीले एएफसी कपको लागि अन्तिम टोली घोषणा गरे।

छनोटमा नेपालले समूह ए मा रहेर कुवेत,  इन्डोनेसिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल रहेको समूहका छनोट खेल कुवेतमा आयोजना हुनेछ।

छनोट खेलहरू ८ देखि १४ जुनसम्म हुँदै छ। नेपालले ८ जुनमा जोर्डनसँग खेल्दै छनोटको शुरुआत गर्दा ११ जुनमा कुवेतको सामना गर्नेछ। १४ जुनमा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ। हरेक समूहका शीर्ष टोली र ५ समूहका उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन्।

अन्तिम टोली
गोलरक्षक
:  दीप कार्की, विशाल सुनार र टिकेन्द्रसिंह थापा

डिफेन्डर : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

मिडफिल्डर : आकाश बुढा मगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनिल बल र सुरज ज्यू ठकुरी

फरवार्ड : आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.