|

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामा निर्वाचित भएकी छन्। 

पाँचदलीय सत्ता गठबन्धनकी साझा उम्मेदवार लामाले नेकपा एमालेका अनन्तप्रसाद पौडेललाई पराजित गरिन्। उनी हेटौंडाको पहिलो महिला मेयरको इतिहास बनाउन सफल भएकी छन्। उनी मेयरमा निर्वाचित भएसँगै हेटौंडामा नेकपा एमालेको तीन दशक लामो विरासत भत्किएको छ। 

हेटौंडामा २०४८ सालदेखि निरन्तर एमालेले विजय हासिल गर्दै आएको थियो। एउटै पार्टीमा रहँदा आफ्नो राजनीतिक गुरुसमेत रहेका पौडेललाई पराजित गरेर हेटौंडामा नयाँ इतिहास बनाउनु उनका लागि सहज थिएन।

तर चुनौतीका चाङबीच लामाले जित मात्रै हात पारिनन्, हेटौंडाको इतिहासको नयाँ पाना पनि कोरिन्। तीन दशकदेखि हेटौंडामा एकछत्र राज गर्दै आएको एमालेले हेटौंडालाई आफ्नो लालकिल्ला बताउँदै आएको थियो। हेटौंडाको मेयरमा समाजवादीकी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएसँगै एमालेको लालकिल्ला ढलेको छ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट उपमेयर निर्वाचित उनले पार्टी विभाजनमा एमाले त्यागेर समाजवादी रोजेकी थिइन्।

को हुन् लामा ?

बुवा शुक्रवीर लामा र आमा सीतादेवीको जेठी छोरी लामाको जन्म वि.सं. २०३३ साल पुस २७ गते हेटौंडा उपमहानगरपालिका वडा नं ११ नवलपुरमा भएको थियो।

बाल्यकाल साधारण रूपमा बिताएकी लामा वि.सं. २०४६ सालमा विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेकी थिइन्। हेटौंडा उपमहानगरपालिका वडा नं ११ नवलपुरस्थित त्रिभुवन माविबाट एस.एल.सी. उत्तीर्ण गरेकी उनले मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एम.ए. र हरिखेतान बहुमुखी क्याम्पस वीरगञ्जबाट एलएलबी अध्ययन गर्दै राजनीतिक जीवनलाई निरन्तरता दिइरहिन्।

विद्यार्थी जीवनमै राजनीतिमा प्रवेश गरेकी लामा वि.सं. २०५२ सालमा अनेरास्ववियु मकवानपुरको जिल्ला कोषाध्यक्षको काम गरिन्। राजनीतिसँगै अध्ययनलाई अगाडि बढाएकी उनले २०५४ असार १३ गते सामाजिक परम्पराअनुसार विवाह गरिन्।

हेटौंडा-१ चाइनाक्वाटरका व्यवसायी सुनकुमार लामासँग विवाह गरेकी उनी आफूलाई पति तथा घरपरिवारको राम्रो साथ सहयोग र मायाले अध्ययन, राजनीति र पारिवारिक जीवनलाई सफलतापूर्वक अगाडि बढाउन मद्दत पुगेको बताउँछिन्।

उनका छोरा सुमित र छोरी स्वेच्छा गरी दुई सन्तान छन्। लामाले आफ्ना सन्तानलाई पालनपोषण, सासूससुराको रेखदेख, पारिवारिक रेखदेखबाहेक राजनीतिलाई पनि सँगसँगै अघि बढाउन सफल रहिन्। 

जागिर, घर, सन्तानको हेरचाह तथा राजनीतिलाई सँगै अघि बढाएकी लामा २०७१ सालमा नेकपा एमाले मकवानपुरको उपसचिव र विद्यार्थी इन्चार्ज भएर काम गरिन्। लामा २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव भएकी थिइन्।

२०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्यसमेत भएकी उनी आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष पनि भइन्। राजनीतिमा क्रियाशील लामा २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा भारी मतले विजयी भएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.