२०२० मा १ करोड १० लाखभन्दा बढी बन्दुक खरिद

|
अमेरिकामा बन्दुक लिएर स्कुलको क्याफ्टेरिया पुगेका विद्यार्थी। तस्वीर : फाइल

वासिङटन : अमेरिकामा बन्दुकहरू छ्यासछ्यास्ती पाउन सकिन्छ। केही वर्षयता तिनीहरूको खपत पनि निकै बढेको छ।

अमेरिकी बन्दुक निर्माताहरूले सन् २०२० मा १ करोड १० लाखभन्दा बढी बन्दुक बनाए। यो भनेको सन् २००० मा बनेका बन्दुकको संख्याको १० गुणा हो। अमेरिकामा मदिरा, सुर्ती, बन्दुक र विस्फोटक मामिला हेर्ने संस्था यूएस ब्यूरो अफ अल्कोहल, टोब्याको, फायरआर्म्स एन्ड एक्सप्लोसिभ्सले बन्दुकको उत्पादन र बिक्रीको तथ्याङ्क सम्बन्धी उक्त प्रतिवेदन जारी गरेको छ।

अमेरिकामा हालसालै अत्यधिक गोलीकाण्ड भएका छन्। त्यसको केही दिनपछि अब बाइडेन प्रशासनले यससँग सम्बन्धित तथ्याङ्क सार्वजनिक गरेको छ।

गोली प्रहारका घटनामा एकैजना आक्रमणकारीसँग तीनवटा बन्दुक भेटिएका थिए। ती सबै उनले कानुनी रूपमा किनेका बन्दुक थिए। उनी एक्लैले १३ जनालाई आक्रमण गरेका थिए। तीमध्ये १० जनाको मृत्यु भएको थियो। अमेरिकामा बढ्दो बन्दुक हिंसाका कारण, बाइडेन प्रशासनले मानिसहरूलाई यो विषयमा सचेत गराउँदै आएको दाबी गरेको छ।

अवैध रूपमा बनेका ४५ हजार वटा बन्दुक
सन् २०१६ देखि २०२१ सम्म ४५ हजारभन्दा बढी बन्दुक अवैध रूपमा बनाइएको अमेरिकी प्रशासनको अनुमान छ। अवैध बनाइएका यस्ता बन्दुकलाई भूत बन्दुक अर्थात् ‘गोस्ट गन’ भनिन्छ। त्यस्ता बन्दुक विभिन्न ठाउँबाट बरामद गरिएको हो। सन् २०२१ मा मात्रै यस्ता २० हजार बन्दुक बरामद गरिएको थियो।

सन् २००० मा ३९ लाखभन्दा बढी बन्दुक निर्माण
‘कसले आपराधिक काममा बन्दुक प्रयोग गरिरहेको छ भनेर जान्न आवश्यक छ। यसो हुँदा हामी त्यस्ता व्यक्तिहरूमा प्रयास केन्द्रित गर्न सक्छौं’‚ उपमहान्यायाधिवक्ता लिसा मोनाकोले भनिन्।

प्रतिवेदनअनुसार अमेरिकामा सन् २००० मा ३९ लाख ३२ हजार ७३४ बन्दुक उत्पादन भएको थियो। सन् २०२० मा यो संख्या बढेर १ करोड १० लाख ६३ हजार ९१० पुगेको थियो।

बन्दुकको तस्करी रोक्ने प्रयास गर्छु : बाइडेन

अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो देशले बन्दुक तस्करी र अनलाइनमार्फत किन्न वा घरेलु बन्दुकलाई प्रतिबन्ध लगाउन आफ्नो क्षेत्राधिकारभित्र हरेक कदम चाल्ने बताएका छन्।

उनले अमेरिकी संसद्‌लाई देशमा बन्दुक हिंसा कम गर्न प्रभावकारी साबित भएका कदमहरू पारित गर्न अपिल गरे। बाइडेनले सांसदहरूलाई अमेरिकी प्रहरीलाई उनीहरूलाई समुदायको सुरक्षा गर्न आवश्यक पर्ने स्रोत र तालिम उपलब्ध गराउनुपर्ने बताएका छन्। यो अभियानलाई शुरुमा उनको डेमोक्रेटिक पार्टीले समर्थन गरेको थियो।

मंगलबार आफ्नो ‘स्टेट अफ द युनियन’ सम्बोधनमा बाइडेनले भने, ‘हामी सबै सहमत हुनैपर्छ: प्रहरीलाई दिइने कोष रोक्नु उचित होइन। उचित त हाम्रो समुदायको सुरक्षा गर्न प्रहरीलाई आवश्यक पर्ने स्रोत र तालिम प्रदान गर्नु हो।’

‘म डेमोक्रेटिक र रिपब्लिकन दुवै सांसदहरूलाई भन्छु: मेरो बजेट पास गर्नुहोस् र हाम्रा छिमेकीहरूलाई सुरक्षित राख्नुहोस्’‚ उनले भने।  उनले समुदायको रक्षा गर्न, विश्वास निर्माण गर्न र नियम लागू गराउने संस्थालाई जवाफदेही बनाउन एकजुट हुन आह्वान गरे।

उनले सिरिज नम्बर नभएका र ट्रेस गर्न नसकिने बन्दुकको तस्करी र अनलाइनबाट किन्न सकिने बन्दुकको तस्करी नियन्त्रणका लागि आफ्नो क्षेत्राधिकारभित्र रहेर सम्भावित पहल गर्ने बताए।

सिकागोमा गोली चल्दा दुईजनाको मृत्यु‚ आठजना घाइते

अमेरिकाको शिकागोमा बिहीबार राति गोली प्रहारमा दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएको प्रहरीले यो जानकारी दिए। बिहीबार राति १०:४० बजे शहरको उत्तरी इलाकामा रहेको म्याकडोनाल्ड्स रेस्टुराँ बाहिर गोली हानाहान भएको थियो। गोली हान्ने एकजनालाई नियन्त्रणमा लिई हतियार बरामद गरिएको प्रहरीले जनाएको छ। मृतकको पहिचान र उमेरबारे प्रहरीले तत्कालै जानकारी दिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.