|

सुनसरी : केही दिनदेखि सुनसरी, प्रदेश १ मा मात्रै होइन नेपालमा पनि चुलिएको मध्येको एक नाम हो हर्क साङपाङ।

उनको चर्चाको कारण चाहिँ स्वतन्त्र रूपमा धरानको मेयरमा उम्मेदवारी दिनु हो। अनि अहिले जुन मात्रामा उनले जनताको विश्वास मतपेटिकामा पाएका छन्, त्यो निक्कै लोभलाग्दो छ।

सामाजिक सञ्जाल, ‘फेसबुकमा’ धरानका समस्या निर्धक्क पोख्दै आएका उनी कहिले कुटिए त कहिले जेलसमेत परे। तर, धरानको समस्या केलाउन भने उनले छोडेनन्।

तत्कालीन धरानका मेयर स्व. तारा सुब्बाको निधन भएपछि २०७६ सालमा भएको स्थानीय तहको उपनिर्वाचनमा समेत सहभागी भएका साङपाङ ४०० को हाराहारीमा मत ल्याएका थिए।

पार्टीबाट वाक्कदिक्क भएका उनी स्थानीय सरकार निर्दलीय हुनुपर्छ भनेर त भन्दैनन् तर उनीहरूमा सो स्थानीय सरकार बनाउने ठोस योजना र लगनशीलता हुनुपर्ने बताउँछन्।

गत बुधबारदेखि धरानका मेयरमध्ये सर्वाधिक मत ल्याएर अग्रता कायम गरिरहेका तीनै हर्क साङपाङसँग थाहाखबरकर्मी शंकर खत्रीले गरेको कुराकानीको सम्पादित अंश :

धराने जनताले तपाईंलाई साँच्चै नै साथ दिएको देखिन्छ। तपाईं स्वतन्त्र रूपमा धरानको मेयरमा उठ्दै गर्दा यसरी मत आउँछ भनेर कल्पना गर्नुभएको थियो?

अपेक्षा त मैले गरेकै थिएँ। किनभने यो धरानमा मैले चुनावको बेला मात्रै अभियान चलाएको होइन, लगभग ९-१० वर्षदेखि धराने जनताको समस्यासँग जोडिएका विषयहरू खानेपानी, बाटोघाटो, स्वास्थ्य, शिक्षा यस्तै रोजगारका बारेमा मैले आवाज उठाउँदै आएको हो। म मेरो अभियान हिँड्दा (चुनावको समयमा घरदैलाय अभियानमा) स–शरिर मलाई साथ दिनुहुने मान्छेहरूको संख्या चाहिँ थोरै थियो। 

मैले धराने जनताको खोनपानी, स्वास्थ्य, शिक्षा, बजारको भाउ नियन्त्रणदेखि लिएर जुन जनताको जीवनसँग जोडिएका विषयहरू छन् ती सम्पूर्ण विषयमा मैले आवाज उठाउँदै आएको छु।

त्यसकारणले मानिसहरूले हेर्दा चाहिँ यो दुई-चार जना मानिस लिएर हिँडिरहेको छ, केही १०-१५ सय भोट ल्याउँछ, भन्ने चाहिँ धेरै पार्टीका नेताहरूको, कार्यकर्ताहरूको आँकलन थियो। मलाई त भित्रदेखि जित्छु जस्तो लाग्थ्यो किनभने म त जनतासँग जोडिएर हिँडेको धेरै वर्ष भयो।

चुनावै आउनुपर्छ भन्ने मलाई थिएन। चुनाव हुँदा पनि नहुँदा पनि उहाँहरूको कुरालाई उठाएर हिँडेको कारणले मैले यो पटकको चुनावमा भाग लिएको हुँ। मलाई धेरै मत ल्याउँछु भन्ने थियो। लगभग जित्छु नै भन्न थियो। र, अहिले जसरी मतपरिणाम आइहेको छ त्यो अनपेक्षित होइन, अपेक्षित नै हो। 

मतगणना सुरु हुँदा बुधबारसम्म तपाईं पछाडि पर्नुभएको थियो। त्यो बेला हार्छु जस्तो लागेको थियो कि पछि अहिले जस्तो कमब्याकहुन्छु भन्ने लागेको थियो?

थियो–थियो मलाई थियो। किनभने त्यो मेरो प्रभाव क्षेत्र नै थिएन। जस्तै वडा नम्बर १, २, ३, ४, ५ र ६ सम्म हाम्रो प्रभाव क्षेत्र होइन। तर, पनि त्यहाँ यो मैले गरेको कामलाई सम्मान गर्नुभएको छ। म कस्तो भने, म सक्रिय रुपमा फेसबुक युज (प्रयोग) गर्छु।

त्यसो भएको कारणले मैले मेरा हरेक गतिविधिलाई मेरो फेसबुकमा ‘अपलोड’ गरेर एक खालको प्रचार गर्थेँ। त्यसले गर्दा पनि मान्छेले भित्रबाट ‘जज’ (मूल्यांकन) गरिरहेको हुँदोरहेछ।

त्योतिर म घरदैलोमा नगए पनि, कुनै कार्यक्रम वा चुनावी गतिविधि नगरे पनि उहाँहरूले मलाई नराम्रो मत दिनुभएको चाहिँ होइन है ! कहीँ कतै दोस्रो कहीँकतै तेस्रो मत उहाँहरूले मलाई ६ नम्बर वडासम्म चाहिँ दिनुभएको हो। त्यसपछि ७ देखि त हाम्रो अग्रता छ। 

तपाईंले हाम्रो प्रभाव क्षेत्र होइन भन्नुभयो माथिका वडाहरूलाई त्यसो भए तपाईंको प्रभाव क्षेत्र कता हो?

वडा नम्बर ७ देखियता मात्रै हाम्रो प्रभाव क्षेत्र हो। त्यसमा १२ र १४ नम्बरबाहेक बाँकी रहेका सबै हाम्रो प्रभाव क्षेत्र हुन्। अब हाम्रा प्रभाव क्षेत्र भनेको चाहिँ वडा नम्बर ८, ११ अहिले गणना हुँदै गरेको १५, १६, १७ मा चाहिँ फस्ट (पहिलो) मत नै आउँछ भन्ने लागेको छ। तर के भने मलाई लागेको कुराले मात्रै हुँदैन। वस्तुगत कुरा चाहिँ त्यही बाकसभित्रै छ। के छ त्यहाँ अब गणना जारी सायद अब आउँछ होला। 

तपाईं सामाजिक सञ्जालमा चुलिएको लोकप्रियतालाई भोटमा कन्भर्ट गरेँ भन्नुहुन्छ। तर, दलका नेताहरू त सामाजिक सञ्जालको उफ्राइले केही हुँदैन भन्छन्। तपाइँले कसरी कन्भर्ट गर्न सक्नुभयो?

त्यो त एकदमै गलत हो। हामी सबैभन्दा पहिले उठ्दै बित्तिकै मोबाइल कोट्याउँछौँ। कति मान्छे त चर्पी जाँदा पनि मोबाइल नछोडेको देखिएको छ।

भनेपछि, मोबाइल, फेसबुक,ट्वीटर, टिकटक हाम्रो जीवनसँग यति नजिकबाट जोडिएको छ। अब त्यो सामाजिक सञ्जालमा केहि हुँदैन भन्नेहरू चाहिँ पुरानो सोच विचार हो। अहिले सबथोक सामाजिक सञ्जालमा आइसकेको छ।

चुनाव सुरु हुनुभन्दा पहिले सामाजिक सञ्जालमा मेरै शुभ चिन्तकहरूले होला पोल (भोटिङ पोल’बनाउनुहुन्थ्यो। पोल बनाउँदा हर्क साम्पाङलाई कति भोट अरूलाई कति भोट भन्दा त्यहिँ पनि हामीले धेरै जित्थ्यौँ।

त्यहाँ मेरो ५ हजार आइरहेको बेला अरुको चाहिँ त्यहि २००, ३००, ४०० आइरहेका हुन्थ्यो। त्यो पनि एउटा जनमत हो नि त। त्यसले गर्दा पनि मलाई धेरै आशा चाहिँ थ्यो। तर, फेसबुक भनेको फरक कुरा हो यहाँ अब रियलमा मतदान भनेको फरक कुरा हो। तर, मैले त्यहाँ पाएकै जस्तो भोट यहाँ पनि पाएको छु।

त्यसैले फेसबुकलाई सामान्य कुरा चाहिँ मान्नु हुँदैन, म चाहिँ त्यहि भन्छु। यो मान्न नुहुने रैछ भन्ने त यर्थाथमा नै देखियो नि त। सामाजिक सञ्जाल मेरो विचारमा एउटा ‘पावर फुल टुल्स’ हो। राजनीति व्यवसाय गर्न एउटा सशक्त औजारको रूपमा म फेसबुकलाई लिन्छु। 

व्यक्तिभन्दा पनि राजनीतिक पार्टीको झण्डा हेरेर भोट हाल्ने नेपालको परिप्रेक्ष्यमा त्यसलाई चिर्दै स्वतन्त्रलाई पत्याउलान् धराने जनताले भनेर कतिको विश्वस्त हुनुहुन्थ्यो?

एउटा कुरा के बुझ्नुपर्छ भने ‘धरान इज अ फेसनेवल सिटी’। ‘फेसन इज चेन्ज’। धरानमा नि! मैले अहिले राम्रो काम गरिने भने अर्को पटक जनताले मलाई भोट हाल्दैनन्। धरानको जनता भनेको एकदम ‘चेन्ज’ चाहने जनता हो।

यसले गर्दा उहाँहरूले त्यही पुरानै मान्छे, त्यही पुरानै पार्टी, ‘अलरेडि टेस्टेड एण्ड फेल्ड’ मान्छेहरूलाई नै चुन्छन् भन्ने मलाई लागेको थिएन। जे कुरो मैले सोचेको थिएँ त्यो कुरो यथार्थ पनि रहेछ।

आज अभिमतमा नै प्रकट भइसकेको छ। अब पुरानो पार्टी, हजुर बा ! ले नि त्यहि पक्ड्यो मैले पनि त्यहि पक्ड्नुपर्छ भन्ने छैन। यदि पार्टीले राम्रो काम गरेनन् भने पार्टीहरू सबै ‘दिउँसो टर्च बालेर खोज्नु पर्ने’ अवस्थामा पुग्छन्। त्यसैले मा पार्टीका नेता कार्यकर्ताहरूलाई पनि जनताको भावना, जनताको सुविधा, जनताको हक अधिकारलाई सुनिश्चित गर्नतिर तपाइँहरू लाग्नुस्। लाग्नु भएन भने, यो त सुरुवात मात्रै हो, पछि प्रदेशमा पनि स्वतन्त्रले जित्देला ! संघका स्वतन्त्रले जित्देला! अहिले त ट्रन्ड नै त्यस्तै आएको छ। भोलि गएर पार्टी नै समाप्त हुने दिन नआउला भन्न सकिँदैन। 

तपाईं अकस्मात निर्वाचनमा होमिनुभएको हो कि पहिले देखिको योजना थियो?

होइन म २०७६ को निर्वाचन पनि लडेको हो नि। म अकस्मात रूपमा आएको होइन। मैले चालको अभियान ठिक छ कि छैन भनेर टेस्ट गर्न मैले २०७६ को निर्वाचनमा मेयरकै पदमा उम्मेदवारी दिएको थिएँ।

त्यतिखेर हामी २३ जना उम्मेदवारमध्ये म पाँचौँमा आएको थिएँ। मतमा चाहिँ मलाई ४२२ मात्रै मिलेको थियो, त्यतिखेर। त्यो निर्वाचनमा नेपाली काँग्रेसबाट तिलक राईले जित्नुभएको थियो।

त्यो उपनिर्वाचनमा धराने जनताको रोजाइमा नपर्नु भएका तपाइँ यो पटक कसरी उहाँहरूको रोजाईमा पर्नु भए छ केही खोजी गर्नुभएको छ? धराने जनताको मन कसरी परिवर्तन भएको रहेछ?

मैले धराने जनताको खानेपानी, स्वास्थ्य, शिक्षा, बजारको भाउ नियन्त्रणदेखि लिएर जुन जनताको जीवनसँग जोडिएका विषयहरू छन् ती सम्पूर्ण विषयमा मैले आवाज उठाउँदै आएको छु।

ती गतिविधि गर्दै गर्दा मैले फेसबुकमा हाल्ने गर्थेँ। अहिले सबै जनतासँग स्मार्ट फोन छ। उहाँहरूले मेरा गतिविधि हेर्नुभएको रहेछ। र, अर्को कुरा के भने यो एमसीसीको विषयमा बोल्ने पहिलो व्यक्ति हो म नेपालमा।

भानुचोकमा मात्रै मैले धेरै कार्यक्रम गरेँ। ९० दिनसम्म त मैले प्रदर्शन गरेँ। कहिले म एक्लै भएँ कहिले २-४ जना हुनुभयो। कहिले ३०-३५ जना। तर, मलाई त्यति धेरैले साथ दिनुभएको थिएन। त्यो आन्दोलनले मेरो पेजको फलोअर्स पनि बढेको गयो। त्यसपछि मैले लिपुलेक, एमसिसी र घोपाको विषयमा बोल्दै जाँदा धरानमा मात्रै नभएर नेपालभरी नै मैले एउटा पपुलारिटी पाएँ।

त्यसले मलाई यो चुनावी अभियान चलाउन सहयोग गर्यो। म स शरीर नपुगेको ठाउँमा पनि मेरा योजना पुगे। सोही कारण धराने जनताले मलाई विश्वास गर्नुभयो जस्तो लाग्छ।

तपाईं बारम्बार सामाजिक सञ्जालले मेरो अभियानलाई सहयोग गर्यो भनिरहनुभएको छ। यो सामाजिक सञ्जालको लोकप्रीयतलाई मतपेटिकासम्म ल्याउन अवसर र चुनौती के के रहेछन्?

यसमा चाहिँ मैले पार्टीहरूले भन्दा पनि ट्यक्टिकल (रणनीति) रुपमा काम गरेँ भन्ने मलाई लाग्छ। मैले त्यो बेला कस्तो रणनीति के बनाएको थिएँ भनेर अहिले खोल्दा पनि केही हुँदैन किनभने मत व्यालेट बक्समा आइसक्यो।

मैले कसैलाई मसँग हिँड्नुपर्छ तपाईंहरू भनिनँ। तपाईंहरूले पनि देख्नुभयो होला म एउटा ट्याम्पो लियो एउटा ड्राइभर लियो दुईजना साथीहरू लियो अनि हिँड्यो। बोल्यो कोही हेर्न आएको हुँदैनन्थ्यो । र, पनि मैले के बोलेको छु भनेर त्यसलाई फेसबुकमा लाइभ गरेको गर्‍यै गर्दाखेरि म के आह्वान गर्थें भने मसँग तपाईंहरू लाम लागेर हिँड्नु पर्दैन तर तपाइँहरू घरमै बसेर तपाईंहरूका आफन्तजन र नजिकलाई भन्नुहोस् भनेको थिएँ।

एकजनाले त मलाई भन्दै हुनुहुन्थ्यो ‘मलाई त चारचोटि फोन गरेर छोराले लौरोमा भोट हाल्नु भने’। यसले पनि प्रभाव पर्‍यो। त्यसले गर्दा हामीले यो फेसबुकबाट पनि धेरै मत ब्यालेट बक्समा ल्याउन सक्यौँ।

स्वतन्त्र रुपमा धरानको मेयरमा उम्मेदवारी दिएका साङपाङ मतगणनाको सुरुवाती दिनदेखि नै दोस्रो धेरै मत ल्याएका थिए। गत बुधबार सार्वजनिक मतपरिणाम उनले पहिलोपटक अग्रता कायम गरेका थिए। त्यसपछि उनले लगातार मतान्तर बढाउँदै अग्रता कायम गरिरहेका छन्। हामीले यो समाचार तयार पर्दासम्म धरान उपमहानगरपालिकाको लौरो चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार साङपाङले सर्वाधिक १४ हजार १८३ मत ल्याएर अग्रता कायम गरिरहेका छन्। 
कांग्रेसका उम्मेदवारको ११ हजार ९९८ र एमालेका उम्मेदवारको ९ हजार ७३५ मत छ।
उनले यो मत पाउँदासम्म धरानको वडा -१, , , , , , , , , १०, ११, १२, १४, १८ र १९ को मतगणना सकिएको छ। वडा नम्बर ११, १३ र १५ को मतगणना जारी छ।

शंकर खत्री

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.