|

काठमाडौं : सुन्दरी प्रतियोगितामा यौन हिंसामा परेकी पीडित युवतीको भिडियाे यतिवेला सामाजिक सञ्जाल तरंगित छ।

देशका विभिन्न स्थानमा पीडितले न्याय पाउनुपर्ने, पीडकले सजाय पाउनुपर्ने भन्दै प्रदर्शन भइरहेका छन्।

पीडित युवतीले सार्वजनिक गरेको भिडियोमा पूर्व मिस नेपाल माल्विका सुब्बाको नाम पनि मुछिएपछि यतिवेला नेपाली कला क्षेत्र दुई खेमामा बाँडिएको छ। माल्विकाले सार्वजनिक रुपमा माफी माग्दै फेसबुकमा एउटा लामो स्टाटस लेखेपछि माल्विकालाई मात्र दोष दिनु नहुने भन्दै एकथरी कलाकार आफूहरू माल्विकाको साथमा रहेको बताइरहेका छन्।

त्यस्तै एक थरीले भने माल्विकाको एउटा गल्तीका कारण पीडित युवतीले ८ वर्षसम्म लगातार अरु हिंसा भोग्नुपरेको भन्दै माल्विकाको चर्को आलोचना गरेका छन्।

सबै दोष माल्विकालाई दिनु नहुने भन्दै केही पूर्व मिस नेपाल र केही अभिनेत्रीहरूले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका छन्। जसमा शृंखला खतिवडा, जेनिशा मोक्तान, शीताष्मा चन्द, प्रियंका कार्की, उषा रजक लगायतका पूर्व मिस नेपाल तथा अभिनेत्रीहरू रहेका छन्।

जसले माल्विकाबाट गल्ती भए पनि सार्वजनिक रुपमा माफी मागिसकेपछि अब पीडितको साथ दिनुपर्ने र अपराधीलाई सजाय दिलाउने तर्फ ध्यान दिनुपर्ने बताइरहेका छन्।

कलाकार आसिफ साहले भने माल्विकालाई सहानुभूति देखाउने सबै सेलिब्रेटीको विरोध गरेका छन्। माल्विकालाई सान्त्वना दिने सेलिब्रेटीहरूलाई लक्षित गर्दै उनले लेखेका छन्, 'डबल स्टान्डर्ड नेपाली सेलिब्रेटी भनाउँदाहरू मोर पावर टू यु दिदी को नारा लगाउँदै छन्। ​वाहियातहरू, गल्ती स्वीकार्दैमा गल्ती कम हुन्छ? साथै उनले ह्यासट्यागमा नो पावर टू यु पनि लेखेका छन्।​

आसिफको स्टाटसमा बिमति जनाउँदा अभिनेत्री निशा अधिकारीले यसरी मुख्य मुद्दा छायाँमा पर्ने बताएकी थिइन्। साथै एक वर्षभित्र रिपोर्ट गर्नुपर्ने कानूनी व्यवस्था संशोधनको मुद्दामा नबोलेर लाइक र फलोअर्सका लागि सेलिब्रेटीको कमेन्टको विरोध गरिरहेको आरोप पनि लगाएकी थिइन्।

घटनाको गहिराइ नबुझी प्रतिक्रिया दिएको आरोप लगाउदै निशाले आसिफको संवेदनशीलतालाई हार्दिक श्रद्धाञ्जली समेत भनेकी थिइन्।

निशाको कमेन्टमा आसिफले रिप्लाइ दिएका थिए, तिमीहरू आफ्नो सहुलियत र अनुकूलता अनुसार फेमिनिस्टको कवच लगाउँछौ। यस्ता पाखण्डी सोचलाई हार्दिक श्रद्धाञ्जली। आसिफ सहित सयौँ फेसबुक प्रयोगकर्ताले निशाको कमेन्टमा आपत्ति जनाउँदै रिप्लाइ गरेका थिए।

अहिले भने उक्त कमेन्ट डिलिट भएको छ।  

त्यस्तै पीडितलाई न्याय हुनुपर्ने माग गर्दै फेसबुकमा पोस्ट गरेकी अर्की अभिनेत्री पूजा शर्माको पनि धेरैले आलोचना गरेका छन्। केही महिनाअघि पल शाह केसमा पीडित नाबालिग गायिकाको विरोधमा बोल्दै सुरुदेखि ने पलको पक्षमा बोलेकी पूजा यो केसमा बोल्दा आलोचित भएकी हुन्।​

हिंस्रकले सजाय पाउनुपर्ने भन्दै उनले लेखेकी थिइन्, यो एक जना पीडित माथि मात्र होइन सम्पूर्ण मानवतामाथिको आक्रमण हो। उनी डरका बाबजुद पनि कडा रुपमा प्रस्तुत भइन्। तिमी पाइला चाल, हामी तिम्रो साथमा छौँ। 

भिडियो भाइरल भएको दुई दिनमै सबैतिरबाट कानून सच्याएर भए पनि पीडितले न्याय र पीडकले सजाय पाउनुपर्ने भन्दै चर्को आवाज उठिरहेको छ।

सबै सेलिब्रेटीले पनि पीडितले छिटो भन्दा छिटो न्याय पाउनुपर्ने माग राखेका छन्।

सेलिब्रेटीहरूको विवादले भने वास्तविक पीडित छायाँमा पर्ने जोखिम पनि देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.