|

बागलुङ : बागलुङको धौलागिरी अस्पतालको स्तरोन्नतिसँगै सेवा सुविधाहरु पनि थप हुँदै गएका छन्।

सामान्यदेखि जटिल प्रकारका रोगहरुको पनि उपचार र चेकजाँच हुन थालेपछि धौलागिरिवासीलाई सहज भएको छ। आधुनिक प्रविधिको विकास र प्रयोगमा ल्याउन थालेपछि यहाँ पहिलो पटक दूरबीन प्रयोग गरी शल्यक्रिया गरिएको छ।

दूरबिनको प्रयोगबाट बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी २९ वर्षीया महिलाको अण्डाशयमा जमेको पानी निकालिएको छ। अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको समूहले ती महिलाको शल्यक्रिया गरेको हो। पहिलो प्रयास नै सफल भएपछि अब दूरबिनद्वारा शल्यक्रिया गर्ने काममा हौसला मिलेकाे डा. आचार्यले बताए।

‘हामीले प्रयास गरेका थियौँ, पहिलो प्रयास नै सफल भएपछि हामीलाई थप काम गर्न उर्जा मिलेको छ’ डाक्टर आचार्यले भने।

शल्यक्रिया गराएकी महिलाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ। दूरबिनको प्रयोग गरेर शल्यक्रिया गर्दा पेटमा ठूलो घाउ पार्नु नपर्ने भन्दै यस प्रविधिको प्रयोगबाट उपचार गर्दा बिरामी निको हुन धेरै समय नलाग्ने उनको भनाई छ।

‘यस प्रविधिको प्रयोग गरी उपचार गर्दा पेटमा ठूलो घाउ पार्नु पर्दैन, यसले गर्दा बिरामी छिट्टै निको हुने, घाउ पाक्ने जोखिम पनि कम हुने र समयका हिसाबले पनि छिटो छरितो हुने हुन्छ, यसरी उपचार गर्दा जोखिम पनि निकै कम हुन्छ डाक्टर आचार्यले भने।’

डाक्टर केशव आचार्य, सजिन कुँवर, प्रज्ज्वल पौडेल, गणेश वन र नर्स शर्मिला शर्मा शल्यक्रियामा खटिएका थिए। उनीहरु भन्छन्–‘यहाँ पहिलो पटक यो विधिबाट उपचार सुरु गरेका हौँ, हामी ढुक्क भएर काम गरेका थियौँ, बिरामी जोखिममा थिएनन्, नयाँ प्रविधि भएकाले यो पहिलो प्रयास जोखिमपूर्ण हुन्छ कि भन्ने लागेको थियो, तर हामी सफल भयौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.