|

काठमाडौं :  ब्यूटी प्याजेन्टको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीकाे काठमाडाैं उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले पाण्डेलाई काठमाडौंबाट पक्राउ गरेको हो।

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्।

भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले महाशाखा प्रमुख वसन्त कुँवरको अध्यक्षतामा पाँच सदस्यीय समितिसमेत बनाएको थियो।

एक युवतीले आठ वर्ष अघि सौन्दर्य प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटक मार्फत् सार्वजनिक गरेकी थिइन्।

त्यसको विरोधमा शुक्रबार (हिजो) प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको थियो भने संघीय संसदमा सांसदहरुले पनि पीडित ती युवतीलाई न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।

मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालक बाहेक कोही नभएको उनले बताएकी छन्।

उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच/छ बजेबाट पार्टी सुरू हुन्छ, भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई लेमोनेड खान दिए। 

लेमोनेड खाएको केही समयपछि रिँगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके, उनले भनेकी छन्, 'अहिले नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौँ, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।

यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्यूझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।

बिहान घर जाने बेलामा ती व्यक्तिले यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडियाे छ, सार्वजनिक गरिदिन्छु भनेर धम्क्याएको पनि उनले बताएकी छन्। त्यति बेला आफू १६ वर्षको भएको पनि उनले बताएकी छन्।

पाण्डेले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्। 

उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा ती व्यक्तिको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। ती व्यक्तिले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।

आफ्ना साथीले ती सञ्चालकलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडियाे हटाउन लगाएको युवतीले बताएकी छन्।

यो घटनापछि कामका लागि अर्को कन्सल्टेन्सी जाँदा त्यहाँ पनि यौन दुर्व्यवहार सामना गरेपछि आफूले मोडल बन्ने सपनै छाडिदिएको उनले बताएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.