|

नेपाली राष्ट्रिय महिला टोलीले युगान्डाविरुद्धको घरेलु सिरिजको अन्तिम तथा पाँचौँ टी-२० मा ३३ रनको जित निकालेको छ। यसअघि नै सिरिज गुमाइसकेको नेपालले समग्रमा ३-२ ले सिरिज गुमाउन पुग्यो।

शनिबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै १२४ रन बनाएको थियो। १२५ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्र बनाएपछि नेपालले सिरिजको सुखद अन्त गर्‍यो।

युगान्डाका लागि रीता मुसामालीले ३८ बलमा सर्वाधिक २६ रन बनाउँदा केभिन एविनो १५ तथा जेनेत म्बावाजी १० रन जोडिन थप दोहोरो स्कोरका रूपमा सकिरा सडिक १७ बलमा १३ रन बनाएर अविजित रहेकी थिइन्। नेपालका लागि इन्दु वर्मा र सीता राना मगरले २-२ विकेट लिएका थिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२३ रन बनाएको थियो। नेपालका लागि ओपनर ज्योति पाण्डेले ६१ बलमा ३ चौकासहित ४९ रन बनाएकी थिइन्। उनी प्लेयर अफ द म्याच घोषित भइन्।

ज्योति १८ औं ओभरको दोस्रो बलमा रन आउट भएपछि घरेलु मैदानमा अर्धशतक बनाउने पहिलो नेपाली महिला खेलाडी बन्ने अवसरबाट १ रनले चुकेकी थिइन्।

जारी सिरिजमा उनी दोस्रोपटक अर्धशतक नजिक पुगेकी हुन्। यसअघि तेस्रो खेलमा ज्योति ४७ रनमा आउट भएकी थिइन्। पहिलो विकेटका लागि सीता राना मगर र ज्योतिले ४७ रनको साझेदारी गरेका थिए।

सीता १७ रनमा आउट हुँदा थप दोहोरो स्कोरका रूपमा कविता जोशी १८ रनमा अविजित रहिन्। त्यस्तै अप्सरी बेगमले ११ रन जोडेकी थिइन्। कोन्सी एविको र फिओना कुलुमेले १-१ विकेट लिए।

पाँच खेलको सिरिजमा नेपाल पहिलो खेलमा १२ रन,  दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले पराजित हुँदै सिरिज गुमाउन पुगेको थियो। तर त्यसपछिका लगातार दुई खेलमा जित निकाल्दै घरेलु मैदानको सम्भावित 'क्लिन स्विप' जोगाएको थियो।

नेपालले चौथो खेलमा युगान्डालाई १५ रनले पराजित गर्दा अन्तिम खेलमा ३३ रनको प्रभावशाली जित निकाल्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.