|

काभ्रे : काभ्रेको कोशीपारि स्थित भुम्लु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर भुजेल ‘बृहत’ले पदभार ग्रहण गरेसँगै पहिलो दिन प्राणघातक रोगको निशुल्क उपचारका लागि ‘रोग निवारण कोष’को स्थापना गरेका छन्।

गाउँपालिकाको अध्यक्षका रूपमा पदभार ग्रहण गर्दै अध्यक्ष भुजेलले मृगौला, क्यान्सर, मस्तिष्काघात लगायतका प्राणघातक रोग लागेका गाउँपालिकाभित्रका नागरिकहरुको निशुल्क उपचार गर्ने गरी ‘रोग निवारण कोष’ स्थापना गरेका हुन्।

गाउँपालिका अध्यक्ष भुजेलले प्राणघातक रोगबाट कोही गाउँपालिकाभित्रका नागरिकले आर्थिक अभावका कारण अल्पायु मै मृत्युवरण गर्न नपरोस् र बिरामीको निशुल्क उपचार गर्न सकियोस् भन्ने उद्देश्यले उपचार कोष स्थापना गरिएको बताए।

‘मृगौला, मस्तिष्क घात जस्ता प्राणघातक रोगको उपचारका लागि धेरै खर्च लाग्ने रहेछ,’ उनले भने, ‘त्यसको सहजतासँगै विपन्न नागरिकहरु आर्थिक अभावको कारण झन् मारमा परेको देखिएकोले पहिलो प्राथमिकता स्वास्थ्यलाई राखेर उक्त कोषको स्थापना गरिएको हो।’

उनले भुम्लुका नागरिक उपचार अभावमा अकालमै मर्नु पर्ने दिनको अन्त्य गर्ने घोषणासमेत गरे।

अध्यक्ष भुजेलले गाउँपालिकाभित्र स्वास्थ्यसँगै शिक्षा, यातायात लगायतलाई आवश्यकताको आधारमा प्रथमिकता दिएर आफ्नो कार्यकालभित्र नै समृद्ध भुम्लु बनाउनेमा जोड दिइने बताए।

कार्यभार सम्हालेको पहिलो दिनमै निकै राम्रो र आशा लाग्दो कामको सुरुवात भएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.