|

झापा : अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। अर्जुनधाराको मेयरमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उपमेयरमा एमालेकी खड्गमाया पराजुली निर्वाचित भएका छन्।

अर्जुनधारामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका थिए। गठबन्धनबाट कांग्रेसकी मेयर उम्मेदवार रंजिता कार्कीलाई ५ हजार ४२६ मतान्तरले पराजित गर्दै तामाङ निर्वाचित भएका छन्।

तामाङले १९ हजार १६९ मत ल्याउँदा कार्कीले १३ हजार ७४३ मत ल्याएकी थिइन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा तामाङ वडा १० को वडा अध्यक्षमा निर्वाचित भएका थिए। राप्रपाबाट मेयरका उम्मेदवार सूर्य कुमार खतिवडा १ हजार ६०८ मत ल्याएका छन्।

त्यस्तै गठबन्धनबाट माओवादी केन्द्रका जितेश योञ्जनलाई ८ हजार ५६६ मतान्तरले पराजित गर्दै एमालेकी पराजुली निर्वाचित भएका छन्। पराजुलीले १७ हजार ६३७ मत ल्याउँदा योञ्जनले ९ हजार ७१ मत ल्याएका छन्।

अघिल्लो निर्वाचनमा पराजुली वडा नम्बर २ को महिला सदस्यमा निर्वाचित भएकी थिइन्। राप्रपाबाट उपमेयरका उम्मेदवार तारादेवी बस्नेत २ हजार ४७० मत ल्याएका छन्।

त्यसैगरी अर्जुनधारा वडा १ मा कांग्रेसका उपेन्द्र बस्नेत, वडा २ मा कांग्रेसका नरेन्द्र कुमार श्रेष्ठ, वडा ३ मा कांग्रेसका सीताराम भट्टराई, वडा ४ मा कांग्रेसका अम्बर बहादुर कटुवाल र वडा ५ मा कांग्रेसका गीताराज खड्का वडा अध्यक्षमा निर्वाचित भएका छन्।

त्यस्तै वडा ६ मा कांग्रेसका हरिशचन्द्र बास्तोला, वडा ७ मा गोविन्द प्रसाद खतिवडा, वडा ८ मा एमालेका कुमार प्रसाद उप्रेती, वडा ९ मा कांग्रेसका भीष्म मिश्र, वडा १० मा एमालेका भूपेन्द्र न्यौपाने र वडा ११ मा एमालेका खगेन्द्र इङनाम वडा अध्यक्षमा निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.