|

विश्व क्लब फुटबलमा सर्वाधिक लोकप्रिय मानिने इंग्लिश प्रिमियर लिग (इपिएल) को अन्तिम चरणका खेल आइतबार हुँदै छन्। लोकप्रिय फुटबल लिगको अन्तिम खेलमा मात्र विजेतासहित शीर्ष चार र रेलिगेशन ब्याटलको टुंगो लाग्दै छ। यसले प्रिमियर लिगलाई थप उत्साहित बनाएको छ।

लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटी र लिभरपुल दुवै उपाधिका लागि मैदानमा हुँदा स्वाभाविक रुपमा दुवै टिमलाई आफ्नो खेलमा जित निकाल्नु पर्ने चुनौती छ। तर लिभरपुललाई आफ्नो जितले मात्र हुँदैन कम्तिमा पनि सिटीको विजयी यात्रा रोकिनु पर्नेछ। तर सिटीले जित निकालेमा १ अंकको अग्रता बनाएर च्याम्पियन बन्नेछ। तर सिटीको हार या बराबरी र लिभरपुलको जितले लिभरपुललाई च्याम्पियन बनाउनेछ। 

शीर्ष चारको भिडन्त पनि रोचक अवस्थामा रहेको छ। सिटी, लिभरपुल र चेल्सीले अन्तिम चारको यात्रा पक्का गर्दा युरोपियन च्याम्पियन्स लिगका लागि अर्को टिमको टुंगो अन्तिम खेलमा लाग्दै छ। जसमा आर्सनल र टोटनह्यामको दौड रहेको छ। टोटनह्यामले जित निकाले शीर्ष चारमा पुग्नेछ भने पराजित भए आर्सनलले जित निकालेको खण्डमा भने आर्सनल अन्तिम चारमा उक्लिनेछ।

त्यसो त रेलिगेशनमा पर्ने तेस्रो टिमको टुंगो पनि आइतबार नै लाग्दै छ। बर्नली र लिड्स युनाइटेड रेलिगेशनमा पर्ने दबाबमा रहेका छन्। दुवैका लागि आइतबार रेलिगेशन ब्याटलबाट माथि उक्लिनु प्रतिष्ठाका रुपमा रहनेछ। यी दुईबाहेक नर्विच सिटी र वाटफोर्ड भने बी डिभिजनमा झरिसकेका छन्। 

यी तीनै महत्वपूर्ण संयोग प्रिमियर लिगमा १० वर्षपछि जुरेको छ। त्यसैले फेरि एकपटक प्रिमियर लिगले विश्वमा आफ्नो प्रतिस्पर्धात्मक छवि उच्च बनाएको छ।

उपाधि ब्याटलमा सिटीलाई एस्टनभिलाको चुनौती

सिटीको उत्कृष्ट फर्मलाई मान्ने हो भने अन्तिम खेलमा एस्टनभिलारुद्ध सहज जित निकाल्ने विश्वास गर्न सकिन्छ। तर फुटबलमा सधैँ यसै भन्न सकिन्न यदि सिटीले आफू अनुकूल नतिजा निकाल्न सकेन भने फाइदा लिभरपुललाई नै हो। सिटी पराजित भएमा र लिभरपुलले वुल्भ्सलाई पराजित गरेमा एकै सिजन चार ठूला उपाधि जित्ने सम्भावनामा लिभरपुल एक कदमअघि हुनेछ।

लिभरपुलले घरेलु २ उपाधि- लिगकप र एफएकप जितिसकेको छ। अब मुख्य र महत्वपूर्ण २ उपाधि जित्ने सपनाको संघारमा रहेको छ। जसमा घरेलु लिग र युरोपेली च्याम्पियन्स लिग रहेका छन्। तर लिभरपुलका लागि पुनः एक पटक सिटीको बाटो हेर्नुपर्ने अवस्था छ। जहाँबाट सिटीले बाटो बिराउने संभावना निकै कमजोर छ।

६८ अंकमा रहेको टोटनह्यामले अन्तिम खेलमा पुछारमा रहेको नर्विचविरुद्ध खेल्दै छ। त्यसैले यो नतिजामा पनि टोटेनह्याम स्वाभाविक रुपमा बलियो छ। रेलिगेशनमा परिसकेको नर्विचले कुनै चमत्कार नदेखाउने हो भने आर्सनलको शीर्ष चारको सपना पूरा हुने छैन। केही दिन अगाडिसम्म पनि चौथो स्थान आर्सनलको भाग्य आफ्नै हातमा थियो। तर टोटनह्यामविरुद्धको खेल गुमाएपछि आर्सनल एकाएक ब्याकफुटमा धकेलियो।

अन्तिम दिन आर्सनलको ‘चमत्कार’ का लागि टोटेनह्यामको अप्रत्यासित हारसँगै आफ्नो खेलमा एभरटनलाई हराउनु पर्ने बाध्यता पनि रहेको छ। रेलिगेसनमा पर्ने टिममा बर्नली ३५ अंकका साथ १७ औं स्थानमा रहँदा समान अंक भएपनि लिड्स १८ औं स्थानमा छ। गोल अन्तरमा बर्नली भाग्यमानी बन्दा अन्तिम दिनको ढुकढुकी दुवैका लागि ‘गर या मर’ का रुपमा रहनेछ। बर्नलीले न्युकासलसँग भिड्दा लिड्सले ब्रेन्टफोर्डको सामना गर्नेछ।

त्यसो त युरोपा लिगको पनि तय आजैको खेलले गर्नेछ। म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम यो दौडमा रहेका छन्। म्यानचेस्टर ५८ अंकमा छैटौं स्थानमा छ भने वेस्ट ह्याम ५६ अंकका साथ उसलाई पछ्याइरहेको छ। म्यानचेस्टरले क्रिस्टल प्यालेस र वेस्ट ह्यामले ब्राइटनको सामना गर्दै छ।

जहाँ म्यानचेस्टर युनाइटेड जित निकाल्दै कम्तिमा युरोपा लिगको यात्रा तय गर्ने ध्याउन्नमा हुँदा वेस्ट ह्याम पनि सोही लक्ष्यमा छ। युनाइटेडको हार र आफ्नो जितको प्रतीक्षामा रहेको छ। तर सातौंमा रहनेले युरोपा कन्फ्रेन्स लिग खेल्नेछ। अन्तिम खेलमा युनाइटेडले क्रिस्टल प्यालेस र वेस्ट ह्यामले ब्राइटनको सामना गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.