|

काठमाडौँ : विराटनगरबाहेक देशका पाँचवटै महानगरको मतगणना जारी छ। तीमध्ये चारवटै महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ। 

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले भने मतान्तर फराकिलो बनाउँदै लगेका छन्। हालसम्मको मतगणनाअनुसार बालेनले नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितभन्दा १७ हजार बढी मतले अग्रता लिएका छन्। 

बालेनले ३९ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २७० मत र सिर्जनकोभन्दा स्थापित एक हजार मतले पछाडि छन्।

भरतपुर महानगरपालिकामा ९४ हजार २३२ मत गनिसक्दा गठबन्धनबाट मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले हालसम्म ३७ हजार २७ मत पाएर अग्रता कायम राखेकी छन्। एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत ल्याएर पछ्याइरहेका छन्। त्यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अहिलेसम्म गणना भएकामध्ये ४० प्रतिशत मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले पछिल्लोपटक सार्वजनिक गरेको परिणामअनुसार १ लाख १ हजार १२१ मत गणना गर्दा आचार्यले ४० हजार ४३४ मत प्राप्त गरेका छन्। 

ललितपुर महानगरमा कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा र वीरगञ्ज महानगरमा गठबन्धनका राजेशमान सिंह एमालेका विजय सरावगाीभन्दा दोब्बर मतले अगाडि छन्।

विराटनगर मेयरमा नेपाली का‌ंग्रेसका नागेश कोइराला नेकपा एमालेका उम्मेदवार सागर थापालाई पराजित गर्दै शनिबार मेयरमा निर्वाचित भइसकेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.