|

काभ्रे : जिल्लाको बनेपा नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेसँगै नवनिर्वाचित मेयर शान्तिरत्न शाक्यको पहिलो गाँसमै ढुङ्गा परेको छ।

आइतबार एमालेबाट निर्वाचित जनप्रतिनिधिले बनेपा नगरपालिकाको सभा हलमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरूको सपथ ग्रहण बहिष्कार गरेका हुन्। 

एमालेबाट बनेपाको उपमेयरमा निर्वाचित भएकी विमला सापकोटा दाहालले नगरको ठूलो दलको रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको बताईन्।

तर एमालेबाटै निर्वाचित एक जनप्रतिनिधिका अनुसार बनेपाका पूर्व मेयर लक्ष्मी नरसिंह बादे उपस्थित भएको कारण सपथ ग्रहण कार्यक्रममा बहिष्कार गरिएको हो।

उनले भने, ‘निर्वाचनको मुखमा एमाले छाडेका पूर्व मेयर लक्ष्मीनरसिं बादेको उपस्थिति रहेका कारण सपथ ग्रहण बहिष्कार गरिएको हो। बादे उपस्थित रहेको सपथ ग्रहण कार्यक्रममा एमालेबाट निर्वाचित एकजना पनि जनप्रतिनिधि सहभागी हुँदैन।’

पूर्वमेयर बादे स्थानीय तहको निर्वाचनमा एमालेले दोस्रो कार्यकालको लागि मेयरको टिकट नदिएसँगै पूर्वमन्त्री तथा एमाले काभ्रेका इन्चार्ज गोकुल बास्कोटासँग असन्तुष्ट बनी साधारण सदस्यसमेत नरहने गरी आफूसहित परिवारका सबैले एमाले परित्याग गरेका थिए।

एमालेबाट निर्वाचित जनप्रतिनिधि उपस्थित नभएपछि नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित जनप्रतिनिधिले मात्रै सपथ लिएका छन्। बनेपाका नवनिर्वाचित मेयर शाक्यले यसअघि नै मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिइसकेका छन्।

बहुमत सदस्य जितेको एमाले मेयर शाक्यको लागि तगारो बन्न सक्ने 

एमालेले सपथ ग्रहणमै विवाद सुरु गरेपछि नवनिर्वाचित मेयर शाक्यको ५ वर्षे कार्यकाल सकसपूर्ण बन्ने देखिएको छ। अब बहुमत सदस्य जितेको एमालेलाई कसरी व्यवस्थापन वा खुशी पारेर अघि बढ्न सक्छ त्यो भने आगामी दिनमा देखिने नै छ।​

अवसर र चुनौतीबीच निर्वाचित मेयर शाक्यलाई एमालेको तगारो तोड्नु पर्ने अर्को चुनौती थपिएको छ। बनेपामा एमालेले उपमेयर सहित बहुमत सदस्य जितेका छन्। एमालेको तर्फबाट उपमेयरसँगै बनेपाको १४ वडामध्ये ७ वडा अध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन्।

त्यस्तै कांग्रेसले मेयरसँगै ६ वडाअध्यक्षसहित २९ र एकीकृत समाजवादीका १ वडा अध्यक्षसहित ५ सदस्य जितेका छन्।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा बनेपाको मेयरमा कांग्रेसबाट शाक्य र उपमेयरमा एमालेकी दाहाल निर्वाचित भएका हुन्। एमालेकी दाहालले गठबन्धनका उपमेयरको उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.