‘जनताभन्दा ठूलो त कोही रहेनछन् भन्ने पुष्टि भयाे’

|

शंकर खत्री

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचिन मेयर हर्क साम्पाङले आफूबाहेक पार्टीगत रूपमा आएका जनप्रतिनिधिलाई पनि मिलाएर लैजाने बताएका छन्। धरानको सुशासन, विकास र समृद्धिमा कोही तगारो बन्न खोजे जनतासामु लैजाने र कारबाही गर्ने बताएका हुन्। 

उनले ‘हलो अड्काएर गोरु कुट्ने प्रवृत्तिका जनप्रतिनिधिलाई’ कारबाही गर्ने बताए। ‘म सबैलाई मिलाउन सक्छु। अहिले एमाले, कांग्रेस र माओवादीकै मान्छेले मलाई भोट त दिए भने मसँग त्यति क्षमता छैन होला त’, उनले भने, ‘निर्वाचित भएर आएका जनप्रतिनिधिहरूलाई धरानको सुशासन र विकासमा म जोड्छु। जो जोडिन मान्दैन, जो हलो अड्काएर गोरु पट्काउने काम भन्छन् त्यो खालको काम गर्छ उसलाई म जनतासामु एक्सपोज गरिदिन्छु। जनताले जे–जे गर्नुपर्ने हो गरिहाल्नुहुन्छ।’ 

२० वडा रहेको धरानमा वडा नम्बर ६ बाहेक सम्पूर्ण वडामा दलगत उम्मेदवार विजयी भएका छन्। फरक दल हुँदासमेत स्थानीय तहको कार्यसम्पादनमा यसअघि नै चुनौती देखिएका प्रशस्तै उदाहरणहरू छन्। 

साम्पाङ स्वतन्त्र रुपमा आएमा जनप्रतिनिधि हुन्। उनलाई झनै सकस पर्ने धेरैले आकलन गरेका छन्। तर जनताले विश्वास गरेर मत दिएकाले कार्यसम्पादनमा जनप्रतिनिधिले पनि सोहि अनुसारको अभिमत दिनेमा उनी ढुक्क छन्।

‘म यत्रो जनताको भोट लिएर जाने हो। एक भोट लिएर त जाने होइन्’, उनले भने, ‘जनता भन्दा ठूलो त कोहि रहेनछ भन्ने अहिले आएर थाहा भइगयो नि। ठूलो भएको भए त अहिलेको गठबन्धन कहाँ पुग्थ्यो। तर अहिले त्यसको अवस्था के छ? त्यसैले जनता हो सबैभन्दा ठूलो। त्यसैले म सबैलाई कन्भिन्स गरेर धरानको सुशासन, विकास र समृद्धिका लागि काम गर्नुपर्छ भन्ने कुरामा उहाँहरुलाई कन्भिन्स गर्छु। यदि मान्नुभएन भने मैले त्यस्ताको नाम एक्सपोज गरिदिन्छु। अनि जनता जनार्दन।’ 

झण्डै एक दशकदेखि धरानमा खानेपानी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाको सुधार अभियान साथै धरानका विभिन्न समस्यासँगै सौदाबाजी गर्दै आएका साम्पाङ एक अभियानकै रुपमा लिन्छन्। धरानमा रहेको प्रमुख खानेपानीको समस्या समाधानमा यसअघिका जनप्रतिनिधिले उदासिनता देखाएको उनको आरोप छ। त्यसलाई पाँच वर्षे कार्यकालमा आफूले पुरा गरेरै छाड्ने उनको प्रतिवद्धता छ। 

साढे तीन दशकदेखि दलगत रुपमा निर्वाचित भएका जनप्रतिनिधि र आफूले गर्ने काममा निक्कै अन्तर देखिने उनको दावी छ। 

‘धेरै फरक हुन्छ’, उनले भने, ‘हामी मितव्ययिता अपनाउँछौँ। फजुल खर्चहरू रोकिन्छ। सूचनाको अधिकार ग्यारेन्टी हुन्छ। शान्ति सुरक्षाको ग्यारेन्टी हुन्छ। यहाँ कुनै धनी मान्छेले कुनै गरिब मान्छेलाई कुट्न पाउँदैन। जबसम्म म मेयर हुन्छु नि ‘नो।’ आफ्नो नजरमा सम्पूर्ण धराने जनता सम्मान ‘काखा–पाखा’ नगर्ने उनको भनाइ छ। 

आफै खानेपानीका लागि आवाज उठाउँदै आएको स्मरण गराउँदै उनले अब कसैले खानेपानीका लागि आवाज उठाउनु नपर्ने बताए। त्यसका लागि आफूले यसअघि नै त्यसको योजना तयार परेको उनले बताए। 

यस्तै धरानको पर्यटन र सौन्दर्यीकरणका पनि काम गर्ने उनले बताएका छन्। आगामी ६ महिनाभित्र धरानलाई ‘दि क्लिनेस्ट सिटी इन द कन्ट्रि’ बनाउने उनको उद्घोष रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.