|

पर्वत : कास्कीको पोखरा महानगरपालिका नेकपा एमालेको पकड रहेको क्षेत्र हो।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षदेखि सदस्यसम्म एमालेको प्यानल नै विजयी भएको थियो तर यस पटकको निर्वाचनले वडा–१६ मा एमालेलाई कमजोर साबित गरेको छ।

अहिले पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहेका कृष्ण थापाको गृह वडा समेत रहेको वडा–१६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुले नगरप्रमुखको होडमा रहेका थापा कमजोर भएकाे देखिन्छ।

गृह वडामा जितेको भए थापाको पार्टी सङ्गठन निर्माण बलियो देखिन्थ्यो।

वडाध्यक्षमा प्रतिस्पर्धा गरेका कांग्रेसका उम्मेदवार अमृत शर्मा तिमिल्सिनाले एमालेका उम्मेदवार राजेश गुरुङलाई १४८ मतान्तरले पराजित गरेका हुन्। कूल खसेका ७ हजार ५१९ मतमध्ये तिमल्सिनाको पक्षमा ३ हजार ३१८ मत आएकाे छ भने गुरुङले ३ हजार १७० मत पाएका छन्। बाँकी रहेका चार सदस्यमा भने एमालेकै उम्मेदवारहरू विजयी भएका छन्।

उक्त वडाबाट नगरपालिकाको प्रमुख पदमा भने एमालेका उम्मेदवार थापालाई बढी मत आएकाे छ। उनको पक्षमा ३ हजार ४४६ मत आउँदा गठबन्धन अन्तर्गत नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यलाई २ हजार ४९२ मत आएकाे छ। आचार्यलाई भन्दा थापालाई ९५४ बढी मत परेकाे हाे।

उपप्रमुख पदमा लडेकी एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई ३ हजार ५६५ मत आउँदा गठबन्धन अन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई २ हजार ६६९ मत आएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.