|

पर्वत :  कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले करिब चार हजार मतको अग्रता लिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक पछिल्लो विवरणअनुसार एक लाख १९ हजार ३१९ मत गणना भइसकेको छ। त्यसमध्ये गठबन्धनबाट नेकपा एकीकृत समाजवादी उम्मेदवार आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई तीन हजार ८५३ मतले पछाडि पारेका छन्। आचार्यको पक्षमा ४७ हजार ९९२ मत आउँदा थापाले ४४ हजार १३९ मत पाएका छन्।

नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शंकर खरालले पाँच हजार १६४, अटेरी अभियानका खडकराज पौडेल (गनेस) ले दुई हजार ८१५ र विवेकशील साझाकी उम्मेदवार सुशीला केसी (अधिकारी) ले ३२४ मत पाएका छन्।

उपप्रमुख पदमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता कायमै गरिरहेकी छिन्। सुरुवाती अग्रतामा गठबन्धन अन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट अगाडि रहे पनि पछि गुरुङको अग्रता रहँदै आएको छ।

गुरुङले कांग्रेसकी रानाभाटलाई दुई हजार ७९० मतले पछाडि पारेकी छिन्। गुरुङलाई ५० हजार २६० मत पर्दा रानाभाटको पक्षमा ४७ हजार ४७० मत प्राप्त भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ११९ र विवेकशील साझाका माधव पौडेलले २४९ मत ल्याएका छन्।

दुई लाख ७ हजार ७१२ जना मतदाता रहेको पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेको छ। अब २३ हजार ९०७ मत मात्रै गणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.