|

काठमाडौं : म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि  जितेको छ।

गएराति भएको सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लासँग ३–२ गोल अन्तरले हराउँदै सिटीले उपाधि रक्षा गरेको हो। 

सिटीले छैटौं पटक प्रिमियर लिगको उपाधि जितेको हो। अघिल्लो सिजनमा पनि उपाधि सिटीकै पोल्टामा गएको थियो।  यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा सिटीले चौंथो पटक उपाधि जितेको हो।

घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो। खेलको ३७ औं मिनेटमा म्याटि क्यासले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६९ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दा एस्टन २–० ले अघि रह्यो। तर, इल्के गुन्डोगान चम्किएपछि सिटीले उत्कृष्ट पुनरागमन गर्यो।

खेलको ७६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा ल्याए। ७८ औं मिनेटमा रोड्रीले गोल गर्दा सिटीले खेल २–२ को बराबरीमा ल्यायो।

त्यसपछि खेलको ८१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–२ को जित दिलाए। जितसँगै सिटीले ३८ खेलमा ९३ अंक जोड्यो। सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको हो। गएराति नै भएको अर्को खेलमा लिभरपुलले  उल्भ्सलाई ३–१ ले हरायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.