|

काठमाडौं : हिमाल आरोहण गर्न आउने विदेशीको संख्या वृद्धि भएको छ। आरोहीको संख्या बढे पनि राजश्व संकलनमा भने कमी आएको  छ। कोरोना संक्रमण घटेसँगै नेपाल घुम्न आउने पर्यटक र आरोहीको संख्या वृद्धि नेपाल पर्यटन विभागले जनाएको छ। 

गत वर्ष ४ सय ५९ जनाले सगरमाथा आरोहण गरेका थिए। यस वर्ष सो संख्या ७ सयको हाराहारीमा रहेको विभागले जनाएको छ। वसन्त ऋतुमा हिमाल चढ्न ७ सय ४९ भन्दा बढी विदेशीले आरोहण अनुमति लिएको नेपाल पर्यटन विभागले जनाएको छ। त्यसबाहेक अन्य हिमाल आरोहणका लागि पनि विदेशी आरोही आएका छन्। 

यो हिमाल आरोहणको सिजन हो। त्यसैले पर्यटक संख्या बढेको विभागको भनाइ छ। करिब दुई वर्ष कोरोनाले थला परेको पर्यटन क्षेत्र संक्रमण कम भएसँगै नेपाल आउने पर्यटकको संख्या बढेको पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले बताए। 

उनका अनुसार आरोहीको रोजाइमा सबभन्दा अग्लो शिखर सगरमाथा पर्ने गरेको छ। विभागका अनुसार प्रत्येक वर्ष सगरमाथा आरोहणका लागि ४ सयभन्दा बढीले अनुमति लिन्छन्। अघिल्लो वर्ष यही याममा सगरमाथा चढ्न ४३ समूहका ४ सय ५८ जनाले  हिमाल आरोहण गरेका थिए।

सगरमाथाबाहेक कञ्चनजङ्घा, अन्नपूर्ण, नुप्त्से, धौलागिरि, ल्होत्से, हिमलुङंचुली, मकालु लगायत आरोहण गर्न विदेशी आरोही आउने विभागको भनाइ छ। कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सकारात्मक  देखिएको नेपाल पर्वतारोहण संघले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष आरोहीको संख्या वृद्धि भएको  संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए। 

कोरोना महामारीअघि वसन्त ऋतुमा संघमार्फत ३ हजारको संख्यामा हिमाल चढ्न अनुमति लिने गरेका थिए।  उनले भने, ‘महामारी अघिको अवस्थामा पुग्न नसके पनि सकारात्मक देखिएको छ।’

सरकारले ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ। सरकारले नेपाल पर्वतारोहण संघलाई २७ वटा हिमाल आरोहण अनुमतिको जिम्मा दिएको छ। संघले ६ हजार ५ सयभन्दा थोरै उचाइ भएका हिमालमा मात्र आरोहण अनुमति दिन पाउने व्यवस्था छ। ३ सय ८७ वटा हिमालको व्यवस्थापन र अनुमति दिने काम विभागले गर्दै आएको छ। 

घट्यो राजश्व 
गत वर्षको तुलनामा आरोहीको संख्या बढे पनि आरोहण अनुमतिबापत उठ्ने राजश्व घटेको छ। गत वर्ष ५९ करोड रूपैयाँ राजश्व संकलन भएकोमा यस वर्ष ४८ करोड रूपैयाँ मात्र राजश्व संकलन भएको नेपाल पर्यटक विभागका वरिष्ठ अधिकारी ( सिनियर अफिसरं) भीष्म भट्टराईले जानकारी दिए।

यो वर्ष आरोही संख्या बढे पनि पोहोरको तुलनामा राजस्व घटेको छ। गत वर्ष हिमाल आरोहण गर्न आउनेमध्ये अधिकांश सगरमाथा आरोहण गर्नेहरू थिए। विभागका अनुसार अरू हिमाल आरोहणको तुलनामा सगरमाथा आरोहण शुल्क बढी छ। यसकारण पोहोर पर्वतारोही थोरै भए पनि राजस्व धेरै उठेको थियो। यस वर्ष अन्य हिमालका आरोही धेरै रहेकाले राजश्व थोरै उठेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.