|

धनुषा : जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार मनोज साह र उपमेयरमा कांग्रेसकी किशोरी साह जित नजिक पुगेका छन्।

फराकिलो मतको अग्रता कायम राखेका मनोजकाे जित पक्का भएकाे हाे।

उपमहानगरका २५ मध्ये २३ वडाको मतगणना सम्पन्न हुँदा मनोजले १२  हजार २ सय ८३  मत पाएका छन् भने शिवशंकरले ९ हजार ३ सय ३ मत ल्याएका छन्।

मतगणनाको पछिल्लो परिणामअनुसार मनोजले निकटतम प्रतिद्वन्द्वी एमालेका शिवशंकर साहलाई २ हजार ९ सय ८० मतले पछाडि पारेका छन्।

सत्ता गठबन्धनको भागबण्डामा शीर्ष नेताले जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई छाड्ने निर्णय गरेपछि कांग्रेस उपमहानगर कार्यसमितिका सभापतिसमेत रहेका मनोजले विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

कांग्रेसबाट बागी भएर उम्मेदवारी दिएका मनोजले अग्रता लिइरहँदा गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी बनेका निवर्तमान मेयर लालकिशोर साह चौथो स्थानमा खुम्चिएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मनोज चौधरीले ५ हजार १६ मत पाएका छन् भने लालकिशोरले ४ हजार ८ सय ६ मत  ल्याएका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयर लडेका मनोज तत्कालीन राजपाका लालकिशोरसँग लगभग दोब्बर मतको अन्तरले पराजित भएका थिए।
मनोज पराजित हुनुमा कांग्रेसका नेता–कार्यकर्ताले अन्तर्घात गरेको आरोप लागेको थियो। यतिबेला पनि उनी अन्तर्घातकै कारण विजय उन्मुख छन्।

गठबन्धनका उम्मेदवार लालकिशोरलाई कांग्रेस मतदाताले साथ नदिएर बागी उम्मेदवारी दिएका मनोजलाई सहयोग गरेको आरोप लागिरहेकाे छ।

मेयरमा बागी मनोजले अग्रता लिइरहँदा उपमेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरी साहको पनि जित लगभग सुनिश्चित भएको हो। मतगणनाको पछिल्लो परिणामअनुसार किशोरीले १४ हजार ८ सय ३२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुना झाले १० हजार ५ सय ३४ मत प्राप्त गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.