|

काठमाडौं : सेयर बजार मापक नेप्से परिसूचक १७ महिना यताकै न्यून विन्दुमा झरेको छ।

पछिल्लो समय निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिना यताकै न्यून विन्दुमा झरेको हो।

साताको पहिलो कारोबार सोमबार नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ। योभन्दा अघि २०७७ पुस २३ गते नेप्से परिसूचक २१९४.४८ विन्दुमा कारोबार भएको थियो। त्यस्तै, यता सेन्सेटिभ इण्डेक्स ५.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०३ अंकले घटेको छ।

सोमबार कारोबारमा आएका २२४ कम्पनीको ३९ लाख १७ हजार कित्ता सेयर १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचक उच्च अंकले गिरावट आए पनि अघिल्लो कारोबारको तुलनामा कारोबार रकम बढेको छ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ। त्यस्तै, बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार नेप्से परिसूचक गिरावट आए पनि २० कम्पनीको शेयर मूल्य बढेको छ। जसमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ६.२० प्रतिशत बढेको छ। प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५.२६ प्रतिशत बढेको छ। तर यता, मिथिला लघुवित्तको शेयरमूल्य ५.८९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा ४ करोड १५ लाख ९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नबिल बैंक शीर्ष स्थानमा रहेको छ। अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.