|

काठमाडाैं : चुनावी परिणामहरू आइरहँदा महानगरपालिका र उपमहानगरपालिकामा भने नेकपा एमाले तुलनात्मक रुपमा कमजोर देखिएको छ। ६ महानगरमध्ये अघिल्लो पटक काठमाडौं र पोखरामा जितेको एमालेले यसपालि महानगरमा भने शून्य देखिने भएको छ।

परिणाम आएका र मतगणना चलिरहेका महानगरमा एमाले कमजोर देखिएको छ।

यस्तै ११ उपमहानगरमा २ वटा जितेको एमालेले एउटामा मात्र अग्रता लिएको छ। महानगर र उपमहानगरमा कांग्रेसलाई अघिल्लो चुनावको तुलनामा फाइदा पुगे पनि यो पटक स्वतन्त्र उम्मेदवारको रजगज बढेको छ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकामा अझै ५ वटा महानगरपालिका र एउटा उपमहानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ।

वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टिको अग्रता छ। त्यहाँ २० हजार मत अन्तरले एमाले पछाडि छ। अघिल्लो चुनावमा आफ्नो पक्षमा रहेको पोखरा महानगरमा अहिले एमाले बाटै छुट्एिको एकीकृत समाजवादी अग्रस्थानमा छ।

भरतपुर महानगरमा अघिल्लो चुनावमा पनि विजयी भएको माओवादी केन्द्रको अग्रता अहिले पनि जिततर्फ लम्किरहेको छ। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साह धेरै मत अन्तरले अगाडि छन्। धरान र धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार नै बाजी मार्दा जनकपुरधाम उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवार नै विजयी भए।

११ उपमहानगरमध्ये १० वटाको नतिजा आइसकेको छ। जसमध्ये बाराको कलैया र दाङको घोराही उपमहानगरमा पाँच दलीय गठबन्धनलाई हराउँदै एमालेले जितेको छ। गणना जारी रहेको तुल्सीपुरमा पनि एमालेकै अग्रता छ।

नतिजा आइसकेका नेपालगन्ज, इटहरी र बुटबल गरी ३ उपमहानगर कांग्रेसले जितेको छ। यस्तै स्वतन्त्र उम्मेदवारले ३ स्थान जितेका छन्। माओवादीले जितपुर सिमरा  र एकीकृत समाजवादीले हेटौँडा उपमहानगरमा जित दर्ता गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.