झापा : दमक नगरपालिकाका नवनिर्वाचित मेयर रामकुमार थापाले भगवानलाई साक्षी राखेर भ्रष्टाचार हुन नदिने प्रण गरेका छन्।
राप्रपाबाट निर्वाचित मेयर थापाले नगरपालिकामा पदभार ग्रहण गर्नु पूर्व स्थानीय दुर्गा मन्दिर पुगेर भगवानलाई साक्षी राखेर भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने कसम खाएका हुन्।
राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह सदस्य निर्वाचनमा टिकट वितरण गर्नुअघि नै पार्टीका नेता तथा कार्यकर्तालाई भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने कसम खुवाएका थिए।
सोही निर्देशन बमोजिम नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिसहित मेयर थापा मन्दिरमा पुगेका थिए। स्थानीय तह जनताको सेवा गर्ने थलो हो, शासन गर्ने थलो नरहेको प्रस्ट्याउँदै उनले भने, ‘नगरपालिकामा जनताको सेवा गर्न निर्वाचित भएर आएको हूँ।’
यसअघि निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिक लगायतका सेवा वा सुविधा लिए पनि सो सेवा सुविधाको रकम नगरभित्रका गरिब तथा असहाय नगरवासी मै खर्च गर्ने घोषणा गरिसकेका छन्।
यता मेयर थापा र उपमेयर रेगिना भट्टराईसहित नवनिर्वाचित वडा अध्यक्ष र सदस्यहरूले शपथ खाँदै आजैदेखि पदभार ग्रहण गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।