पर्वत : पोखरा महानगरपालिका–१८ मा नौ मत हराएको बारेमा निस्किएको विवादका कारण वडा-२२, ३२ र ३३ को मतगणना कार्य रोकिएको छ।
उक्त वडामा कुल ४ हजार ३४८ मत खसेको भए पनि गणनामा ४ हजार ३३९ मत आएपछि एमालेले ९ मत हराएको भन्दै पुन मतगणनाको माग गरेको छ।
विवाद सुरु भएसँगै मतगणना स्थलमा एमालेका प्रतिनिधिहरू उपस्थित नभएपछि मतगणना कार्य रोकिएको हो। खसेको मत र गणना भएको मत समान नभएपछि एमालेले पुनः मतगणना माग गर्दै निवेदन दिएको छ। त्यही माग राखेर अन्य वडाका एमाले प्रतिनिधिले मतगणना स्थल छोडेपछि मतगणना रोकिएको हो।
पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत ९ कम थियो। वडाध्यक्ष पदमा एमालेका पुष्कलबहादुर थापा काँग्रेसका शिव तिमिल्सिनासँग ३ मतले पराजित भएका थिए। सार्वजनिक मत परिणामअनुसार एमालेका पुष्कलले १ हजार ६४० र काँग्रेसका तिमिल्सिनाले १ हजार ६४३ मत ल्याएका थिए।
पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धन अन्तर्गत नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यको जित निश्चित भइसकेको छ। उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जु देवी गुरुङ जित नजिक पुगेकी छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।