|

विराटनगर : धरान उपमहानगरपालिकाको राजनीतिसँग परिचित आमजनतालाई एउटै खुलदुली थियो। वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनको नतिजा कस्तो आउला? जुन ठाउँमा एमालेको ढलेको लालकिल्ला पुनः उठाउनु थियो भने काँग्रेसले भरर्खरै पाइला चाल्दै गरेको नेतृत्वलाई पुनः अगाडि बढाउनु थियो।

धरानमा गठबन्धनको वर्चस्व रहला या एमालेको लालकिल्ला फर्किएला भन्ने खुलदुली थियो। जुन आइतबार सार्वजनिक भएको अन्तिम मत परिणामसँगै धरानको राजनीतिले कोल्टे फेरको छ। धरानमा ‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखान चरितार्थ भएको छ।

धराने जनताले मौन भएर एउटा विद्रोह गरे। जुन देशभर नै ‘आश्चर्यजनक’ बन्यो। ०७६ सालको उपनिर्वाचनमा मेयर पदका स्वतन्त्र उम्मेदवार रहेका हर्कराज राई (हर्क साम्पाङ) ४२४ मत ल्याएर हार बेहोरेका थिए। उनै हर्कलाई धराने जनताले दशकौँदेखिको राजनीतिक धारबाट पछि हट्दै नपत्याउने मत दिएर आशा र भरोसाको केन्द्र बनाए। अर्थात् धराने जनताले  धरान उपमहानगरपालिकामा ५ वर्षका लागि नेतृत्वको चावी उनको हातमा थमाइदिए।

जहाँ दशकौँ लामो वामपन्थी राजनीतिले एकछत्र राज गरेको थियो। तर, मेयर तारा सुब्बाको निधनसँगै ०७६ को उपनिर्वाचनमा नेपाली काँग्रेसले ढालेको वामपन्थी लालकिल्ला मेयर हर्क साम्पाङको स्वतन्त्र जितसँगै दुई ठूला राजनीतिक दलमा तरङ्ग छाएको छ। न एमालेले विरासत फर्काउन सक्यो, न नेपाली काँग्रेसले नेतृत्व जोगाउन सक्यो।

धरानको त्यो क्रान्ति
धरानलाई यसै लाहुरेको शहर भनिएको होइन। दोस्रो विश्वयुद्ध खेपेर नेपाल फर्केका लाहुरेहरूको छहारी बन्यो धरान। उनीहरू फर्किएर जन्मथलो उक्लिएनन्। त्यही ताकादेखि धरानमा बस्ने अधिकांश लाहुरेहरू क्रान्तिकारी विचारधाराका भए। त्यो समयदेखि विद्रोही स्वभावको धरान क्रान्तिकारी रूपमा स्थापित हुँदै आयो।


नेपाल र भारतबीच भएको मैत्री सम्झौता विभेदकारी भएको भन्दै नेपालमा त्यतिवेला कम्युनिष्ट आन्दोलन जुरमुराइरहेको अवस्था थियो। जुन समय राजा महेन्द्रको सवारीका क्रममा धराने स्थानीय रत्नबहादुर श्रेष्ठ लगायतका ८/१० जनाका समूहले कालो झण्डा देखाएका थिए। परिवर्तन र क्रान्तिको आवाज जुरमुराउने शहर हो धरान। उनैको सम्झना स्वरूप हाल धरानमा रत्नचोक भनेर समेत स्थापना गरिएको छ।

उठेन वामपन्थी राजनीति
पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारी जस्ता नेता जन्माएको धरानमा मेयर तारा सुब्बाको निधनसँगै ढलेको वामपन्थी राजनीति उठ्न सकेन। उनको निधनपछि मेयरको पद करिब डेढ वर्ष खाली नै रहेको थियो। उनको निधनपछि कार्यवाहक मेयर एमालेबाटै निर्वाचित उपमेयर मञ्जु भण्डारीले डेढ वर्षसम्म सम्हालेकी थिइन्।

सरकारले ०७६ मंसिर १४ गते उपनिर्वाचन घोषणा गरेको थियो। ०७४ को निर्वाचनमा करिब ४ हजार बढी मतान्तरले पराजित तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउँदै एमालेको ‘लालकिल्ला’ ढालेका थिए।

त्यही वेलादेखि धराने जनताले राजनीति दलसँगको वितृष्णा मेटाउन मौन विद्रोहको सुरुवात थालेको भन्दा फरक नपर्ने स्थानीय विक्रम सुब्बा बताउँछन्।

धरानमा कम्युनिष्टबाट पहिलो प्रधानपञ्चमा मोहनप्रसाद खनाल थिए। त्यसपछि सूर्यप्रसाद उपाध्याय राजाले मनोनीत गरेका थिए। उनी राजावादी भए पनि केही समयपछि कम्युनिष्ट भए। यस्तै ०३६ मा इन्द्रप्रसाद श्रेष्ठ प्रधानपञ्च भए। गोविन्द मोक्तान नगरपञ्च भएका थिए।

यस्तै ०४३ मा बम देवान, ०४९ मा ध्यानबहादुर राई सँगै कम्युनिष्ट नेतृत्वले निरन्तरता दिँदै ०५६ मा मनोज मेन्याङ्बोको हातमा पुग्यो समग्र धरानको नेतृत्वको ताल्चा। यस्तै ०४८ मा मनमोहन अधिकारी निर्वाचित भएर उनी देशको प्रधानमन्त्री समेत बनेका थिए भने ०५१ सालमा एमालेबाट निर्वाचित लीला श्रेष्ठ संसद्‌मा नेपालको पहिलो उपसभामुख समेत भएकी थिइन्।

​यस्तै ०५६ सालमा कुन्ता शर्मा लगायतले नेतृत्वको बागडोर सम्हालेको धरान उपमहानगरपालिकाको पछिल्लो समयको राजनीति गतिले नयाँ रूप लिएको छ।

विद्रोही मतदाताले रुचाएन ‘टेस्टेड’ उम्मेदवार
धरान राज्य जुन धारमा जान्छ त्योभन्दा पृथक धारमा जाने विद्रोही स्वभावका धरानका मतदाता भएकाले पनि पछिल्लो समयको धरानको मत परिणाम फरक आएको राजनीतिक विश्लेषक राजेन्द्र शर्मा बताउँछन्।

काँग्रेसले चुनाव गराउँदा वामपन्थीलाई जिताउने, खड्ग ओलीले चुनाव गराउदा तिलक राई अर्थात् काँग्रेसलाई जिताउने विद्रोह स्वाभावका मतदाता रहेकाले धराने जनता कुनै चिज पार्टीले बाहिरबाट लादेको मन नपराउने उनको तर्क छ।

‘यसपालि नेकपा एमाले र गठबन्धनबाट काँग्रेसले उम्मेदवारी दिएका थिए ती दुवै उम्मेदवार धरानले जाँचिसकेका उम्मेदवारहरू हुन्।’ उनले थाहाखबर सँग भने, ‘उममेयरका रूपमा धरानको पहिलो कार्यकालमा टेष्टेड हुन। किश्वर राई अघिल्लो संसदीय निर्वाचनमा ‘क’ नम्बर क्षेत्रबाट प्रदेशसभाका लागि पराजित हुन्।’

उनी थप्छन्, ‘बुढासुब्बा गोल्डकप फुटबल महासंघ लगायतमा उनी ‘परीक्षण भएका व्यक्ति हुन् र नगरपालिकालाई दलीय संयन्त्र गर्दा उनी संयोजक भएर पनि नगरपालिका चलाएका हुन्।’

धरानले नेतृत्वको स्वाद चाखिसकेकी मञ्जु भण्डारीलाई भोट हाल्न नचाहनेले विकल्पमा किश्वोर राईलाई भोट हाल्न नचाहेको र राईलाई भोट हाल्न नचाहनेले मञ्जु भण्डारीलाई भोट हाल्न नचाहेको बताउँदै उनले मतदाताले तेस्रो विकल्पमा हर्क साम्पाङ भेटिएको बताउँछन्।

दुवैजना जनताले परीक्षण गरिसकेका र आम जनताले नरुचाएको र पार्टीले लादेको भएर धरानका आमजनताले हर्कराज राईलाई विकल्प खोजेको उनको भनाइ थियो।

‘धरान जहिले पनि परिणाममुखी रुचाउँछ’, हर्क साम्पाङ विपी अस्पतालमा बेथिति भयो। उनी कोभिड अस्पतालको बिरामी कुरुवा घरमा आफैँ गएर सुते। सर्दु खोलामा गिटी बालुवामा अनियमितता भयो। त्यो गिटी बालुवा उठाउने टिप्पर डाइभरलाई आफैँ कुट्न गए। पुलिसले रोक्न खोज्यो पुलिसमाथि पनि खनिए।’ उनी भन्छन्, ‘उनी आन्दोलन र काममा धराने जनताले स्वाद चाखेका मान्छे हुन् नागरिकको कामका लागि परिणाम निकाल्न सक्ने हुन्।’

२ वर्षमा साम्पाङले जनताको अगाडी परीक्षा उत्तीर्ण गरेको बताउँदै उनले मतदातालाई विकल्प चाहेको र उनी परिणाममुखी भएकाले उनलाई मतदाताले छाने।
पछिल्लो समय पार्टीका उम्मेदवारलाई मतदाताले तिरस्कार गरेको अवस्था भएकाले अब पार्टी सच्चिएनन्, आत्मसमीक्षा गरेनन् र भ्रष्टाचार रोकिएन भने पार्टी नै तिरस्कृत हुने अवस्था रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘आज व्यक्ति तिरस्कृत भएको छ, भोलि पार्टी तिरस्कृत हुने खतरा छ।’

विश्लेषक एवम् पत्रकार भवानी बराल स्थानीय सरकारले सेवाप्रवाह इमान्दारीपूर्वक गर्न नसकेकाले जनताले मतमार्फत शान्तिपूर्ण विद्रोह गरेको उनको तर्क छ।
‘२०५५ सालमा स्वायत्त शासन ऐन बन्यो, त्यसपछि नगरपालिकाले सेवा प्रवाह ऐन अनुसार दिन सकेन। ऐनमा भएका प्रावधान उपयोग गर्न सकेन अथवा उपयोग गर्न चाहेन,’ उनले भने, ‘संविधानको अनुसूची ८ अनुसार एकल अधिकारलाई उपयोग गर्न चाहेनन् अथवा उनीहरूले गलत ढंगले उपयोग गरे त्यही गलत ढंगले उपयोग गरेको यो सैद्धान्तिक परिणाम हो।’

धरानमा कम्युनिष्ट लालकिल्ला ढल्नुमा प्राविधिक कारण रहेको बताउँदै उनले उम्मेदवार चयनका कुरा र जुन उम्मेदवारी उठाए पनि जित्न सक्छु भन्ने दम्भ पनि रहेको उनी बताउँछन्। मुख्य उम्मेदवार लोकप्रिय नभएकाले पनि हारेको हुनसक्ने उनले बताए।

काँग्रेसले धरानमा निरन्तरता दिन नसक्नु, उम्मेदवारका कारण दलले उम्मेदवार चयन गर्दा लोकप्रिय मान्छे र निष्कलंक दिन नसक्नुले काँग्रेस पछि परेको उनको तर्क छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.