काठमाडौं : आगामी २२ जेठबाट तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ।
प्रतियोगिता अब २८ असोजदेखि ३ कात्तिकसम्म आयोजना हुने तय भएको हो। युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै नवौं राष्ट्रिय खेलकुद सरेको भन्दै नयाँ मिति पनि सार्वजानिक गरेको हो।
यसअघि नवौं राष्ट्रिय खेलकुद २२ देखि २८ जेठ सम्म आयोजना गर्ने तयारी गरिएको थियो। तर बर्खा याममा राष्ट्रिय खेलकुद प्रतियोगिता झारा टार्ने बहाना भएको भन्दै व्यापक आलोचना भएको थियो। साथै खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले समेत पर्याप्त तयारी नगर्दा प्रतियोगिता अन्योलमा पर्ने आशंका गरिएको थियो।
नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ। दुई प्रर्दशनी खेल रहेका छन्। जसमा छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा नवौंमा राष्ट्रिय खेलकुदमा समावेश गरिएको छ।
नवौं राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हकी, बक्सिङ, भलिबल, जिम्नास्टिक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल, कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ समावेश गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।