|

काठमाडौं : पछिल्लो दुई हप्ता फिल्म हलमा दर्शकको खासै चाप रहेन। नयाँ वर्षको अवसर पारेर ‘केजिएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ जस्ता फिल्म प्रदर्शनमा आएपछि अन्य प्रतीक्षित फिल्म प्रदर्शनमा नआउनु एउटा कारण हो भने वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अर्को कारण हो। 

यतिवेला हलमा ५ वटा फिल्म छन्, दर्शकको चाप भने न्यून छ। दरबार सिनेम्याक्समा रहेको ‘लाइफ इन एलए’को एउटा शोलाई छोड्ने हो भने हलमा ४ वटा फिल्म मात्रै छन्। जसमध्ये सबै विदेशी फिल्म हुन्। 

ब्लकबस्टर कन्नड फिल्म केजिएफ २ छैटौँ हप्तामा प्रदर्शन भइरहेको छ। जसमा अझै पनि दर्शकको उपस्थिति औसत छ। त्योबाहेक तेस्रो हप्तामा प्रदर्शन भइरहेको ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’मा दर्शकको संख्या लगातार घट्दो छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘धाकड’मा पनि दर्शकको संख्या उल्लेख्य छैन। 

अहिले दर्शकको चाप सबैभन्दा धेरै भएको फिल्म ‘भूल भलैया २’ हो। सबैभन्दा धेरै शोका साथ प्रदर्शन भइरहेको फिल्ममा दर्शकको उपस्थिति सन्तोषजनक नै छ। तर समग्रमा नयाँ वर्षमा आएका केजिएफ २ र ए मेरो हजुर ४ को प्रदर्शनपछि हलमा दर्शकको चाप लगातार घट्दै गएको छ। बीचमा आएको डाक्टर स्ट्रेन्जले दुई दिन हाउसफुल दर्शक पाए पनि तेस्रो दिनबाट दर्शकको संख्या ओरालो लाग्न थालेको थियो। 

आउँदो शुक्रबारदेखि भने हलमा दर्शकको चाप फेरि बढ्ने देखिएको छ। कुनै हलिउड, बलिउड या तेलुगु, कन्नड फिल्म नभएर शुक्रबार नेपाली फिल्मले हलमा दर्शकको चाप बढाउनेछ। जसको संकेत सोमबारबाट नै देखिन थालेको छ। 

बहुप्रतीक्षित नेपाली फिल्म ‘कबड्डी ४’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। सोमबारदेखि बुकिङ खुल्ला गरेकोमा पहिलो दिनको अधिकांश शो हाउसफुल भइसकेका छन्। साथै शनिबारका शोको पनि तीव्र गतिमा बुकिङ भइरहेको छ। 

कोरोना महामारीपछि प्रदर्शन भएका कुनै पनि नेपाली फिल्ममा यस्तो क्रेज देखिएको थिएन। ‘कबड्डी ४’ सफल फिल्म सिरिज कबड्डीको चौथो तथा अन्तिम फिल्म हो। त्यसकारण पनि यो फिल्मको हाइप बढी देखिएको छ। ‘कबड्डी ४’ ले नेपाली बक्स अफिसमा धेरै नयाँ कीर्तिमान बनाउने अनुमान धेरैले गरेका छन्। 

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले संयुक्त रुपमा लेखेका हुन्। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मलाई बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सन्सले संयुक्त रुपमा निर्माण गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.