|

बागलुङ : स्थानीय निर्वाचनमा बागलुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ। जिल्लाका १० स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको १०.६३ प्रतिशत मत बदर भएको हो।

कुल १ लाख ९३ हजार २२६ मतदातामध्ये १ लाख २१ हजार ८६९ अथवा ६३.६० प्रतिशत मत खसेकामा ८९.३७ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ। कुल खसेकामध्ये पूर्णरूपमा ०.८० प्रतिशत अथवा १ हजार ९ र सातवटै पदमा १३ हजार ७४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए। 

शर्माका अनुसार मतदाता संख्या १ लाख ९३ हजार भए पनि एक मतदाताले सातपटक मतदान गर्ने भएकाले धेरै मत बदर भएको देखिएको बताए। ‘एकजना मतदाताले सातपटकसम्म छाप लगाउनुपर्छ त्यसका लागि एक मतदातालाई सात पदमा मतदान गर्नुहुन्छ, तर कतिले सात पदमै गरेको मतदान बदर भएमा पूर्ण मत बदर भन्ने बुझिन्छ तीमध्ये १ हजार ९ मतपत्र पूर्ण रूपमै बदर भएको पाइयो’, शर्माले भने ‘तर सात पदमध्ये केही पदमा मात्रै मत बदर भएको संख्या १३ हजारभन्दा बढी छ, तीमध्ये उपाध्यक्ष, उपप्रमुख पदमा सबैभन्दा बढी मत बदर भएको छ।’

निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले सबैभन्दा बढी मत गठबन्धनका कारण बदर भएको मत गणनाका क्रममा पाइएको बताए।

उनले एउटै मत पत्रको तलमाथि चिह्नमा मत लगाउँदा बढी बदर भएको पाइएको बताउँदै लस्करै चिह्न लाउने मतदाताको मत कम मात्रामा बदर भएको बताए। उनका अनुसार पूर्ण रूपमा मत बदर भएकोमा मतपत्रभन्दा बाहिर मतदान गरेको लगायतका समस्या देखिएको छ। 

मतदाता शिक्षामा कमी हुनु र एकै मतदाताले फरक–फरक दलका उम्मेदवारलाई मत दिँदा बढी मत बदर भएको देखिएको छ। मतदाताहरू मतदानकै दिन मत हाल्ने विषयमा अन्योल देखिएका थिए। १० स्थानीय तह र ८५ वडा रहेको बागलुङमा निर्वाचित हुने ४४५ पदका लागि १ हजार १९१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।

बागलुङ जिल्लामा निर्वाचनपछि नेपाली कांग्रेसले ६ पालिका प्रमुख, ५ पालिका उपप्रमुख, ३७ वडाध्यक्ष, माओवादी केन्द्रले १ पालिका प्रमुख, ३ पालिका उपप्रमुख, १७ वडाध्यक्ष, राष्ट्रिय जनमोर्चाले २ पालिका प्रमुख, २ पालिका उपप्रमुख, एक विद्रोही  समेत जोड्दा ११ वडाध्यक्ष, नेकपा एमालेले १ पालिका प्रमुख, १६ वडाध्यक्ष, नेकपा समाजवादीले ३ वडाध्यक्ष र स्वतन्त्रबाट १ वडाध्यक्षले जितेका छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.