|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुखले कार्यभार सम्हालेसँगै तीनवटा निर्णय गरेका छन्। 

मंगलबार नवनिर्वाचित नगरप्रमुख मनोज साहले पदभार ग्रहणपछि जनकपुरको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने निर्णय गरेका  छन्। यसअघि उपमहानगरपालिका कार्यालय आफैंले फोहोर व्यवस्थापन गर्ने गरेको थियो।

वडा कार्यालयलाई थप जवाफदेही बनाउँदै फोहोर व्यवस्थापनका लागि जिम्मेवारी विकेन्द्रीकरण गर्ने निर्णय मेयर साहले गरेका छन्।

फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाका सबै वडा कार्यालयलाई ट्याक्टर र सफाइ कर्मचारी उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायले जानकारी दिएका हुन्।

जनकपुरधाममा फोहोर व्यवस्थापन प्रमुख चुनौती रहेको छ। बजार क्षेत्रमा सरसफाइ हुने गरे पनि टोलटोलमा सम्भव हुनसकेको थिएन’‚ उपाध्यायले भने,‘उपमहानगरपालिकाका साथै फोहोर व्यवस्थापनको जिम्मा वडा कार्यालयलाई दिने निर्णय मेयरले  गर्नुभएको छ।’

यसैगरी उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित शाखाको काम सम्बन्धित कर्मचारीबाट गराउने निर्णय मेयर साहले समेत  गरेका  हुन्।

जुन फाँटका लागि नियुक्ति भएको हो त्यो कर्मचारीले सोही फाँटको काम गर्ने निर्णय भएको उपाध्यायले बताए। यसअघि एउटा शाखामा आबद्ध कर्मचारीले अर्को शाखाको काम गर्दै आइरहेका थिए।

उपमहानगर कार्यालयभित्र सेवाग्राहीलाई सहज ढंगले सेवा उपलब्ध गराउँदै सुशासन कायम गर्न पारदर्शिता अपनाउने निर्णय भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.