खाद्यान्न संकटमा फस्दै विश्व

|

वासिङटन : युरोपको ‘रोटीको भण्डार’ भनेर चिनिने युक्रेनमा रूसको आक्रमणले खाद्यान्न आपूर्तिको अवस्था निकै भयावह बन्दै छ। यो महासंकटमा केही दिनअघि मात्रै संयुक्त राष्ट्रसंघले विश्वमा १० हप्ता अर्थात् ७० दिन मात्रै खान पुग्ने गहुँ बाँकी रहेको चेतावनी दिएको थियो। यो अवस्था सन् २००८ यताकै तल्लो बिन्दुमा झरेको छ।

संयुक्त राष्ट्रसंघले विश्वमा अहिले देखिएको खाद्य संकट 'एउटा पुस्ताले एक पटक भोग्ने' बताएको छ। यसैबीच जापानमा आयोजित क्वाड बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले खाद्यान्न संकटमा सहकार्य गर्नेबारे छलफल गरेको ह्वाइट हाउसले जनाएको छ।

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि अमेरिकालगायत युरोपेली मुलुक निकै तनावमा छन्। गो इन्टेलिजेन्सको प्रतिवेदनले विश्वमा गहुँको आपूर्ति हुन १० हप्ता मात्र बाँकी रहेको उल्लेख गरेको थियो। वास्तवमा रूस र युक्रेनले विश्वको एक चौथाइ गहुँ आपूर्ति गर्दछन्। उनीहरू रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गहुँलाई हतियारको रूपमा प्रयोग गर्ने भन्दै पश्चिमा देशहरू डराएका छन्। यो वर्ष रूसमा गहुँ बाली निकै वर्ष राम्रो भएको छ र पुटिनले यसलाई नियन्त्रण गर्न सक्छन्। यसैगरी खराब मौसमका कारण युरोप र अमेरिकामा गहुँबालीमा क्षति पुगेको छ।

गो इन्टेलिजेन्सकी प्रमुख कार्यकारी अधिकारी (सीईओ) सारा मेनकरले खाद्यान्नको आपूर्तिले धेरै ‘असाधारण’ चुनौतीसँग जुझिरहेको चेतावनी दिइन्। रासायनिक मलको अभाव, जलवायु परिवर्तन र खाद्य तेल र अन्नको कम भण्डारणका कारण यो समस्या आएको हो। तत्काल आक्रामक विश्वव्यापी प्रयासबिना हामी असाधारण मानवीय त्रासदी र मानवीय आर्थिक क्षतितर्फ अघि बढिरहेको उनले राष्ट्रसंघीय सुरक्षापरिषद्‌मा बोल्दै चेतावनी दिइन्। उनले यस्तो संकट एउटा पुस्तामा एकपटक मात्र आउने र यस्तो स‌ंकटले भूराजनीतिक युगलाई नाटकीय रूपमा परिवर्तन गर्न सक्ने बताइन्।

रूसी राष्ट्रपतिले जानीजानी विश्वव्यापी खाद्यान्न आपूर्तिमा अवरोध गर्न सक्ने पश्चिमा देशहरूले त्रास व्यक्त गरेका छन्। रूसी आक्रमणका कारण युक्रेनका कृषि उपकरण नष्ट भएका छन्। यसैबीच भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि पश्चिमी मुलुकहरू तनावमा छन्। अमेरिकाले क्वाड बैठकमा गहुँ संकटबारे छलफल गरेको छ।

युक्रेनमा सन् २०२१-२२ मा करिब ३ करोड ३० लाख मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यसै क्रममा युक्रेनले यसमध्ये करिब २ करोड मेट्रिक टन गहुँ निर्यात गरेको थियो। युक्रेनमा भएको आक्रमणका कारण अहिले त्यहाँ गहुँबाली प्रभावित भएको छ भने अर्कोतर्फ निर्यात पूर्णरूपमा रोकिएको छ। युक्रेनले विश्वमा गहुँ निर्यातको करिब १२ प्रतिशत ओगटेको छ। त्यसैले युद्ध भइरहँदा निर्यात रोकिनु स्वाभाविक थियो।

त्यसैगरी रूसले पनि करिब १४–१५ प्रतिशत गहुँ निकासी गर्ने गरेको छ र त्यहाँबाट हुने निर्यात पनि युद्धका कारण प्रभावित भएको छ। आपूर्तिमा कमी आएपछि गहुँ अभाव भएको हो। भारतले निर्यात बढाए पनि स्वदेशमै माग बढेपछि सरकारले निकासीमा प्रतिबन्ध लगाएको हो।

विश्वका ७ शक्तिशाली राष्ट्रहरूको समूह जी-७ ले भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको र गरिबलाई निःशुल्क राशन उपलब्ध गराएको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन्। जी-७ को एक सदस्य जर्मनीका कृषिमन्त्रीले भारतको निर्णयले युक्रेन युद्धका वेला उत्पन्न खाद्य संकटलाई गम्भीर बनाएको भन्दै आलोचना गरेका थिए।

खाद्य संकटको यस घडीमा धेरै पश्चिमी देशहरूले आफ्नो गहुँ निर्यात भने घटाएका छन्। यस्तो अवस्थामा उनीहरू भारतको भने आलोचना गर्ने गरेका छन्।

बाइडेनले युक्रेनविरुद्ध रूसी आक्रमणको निन्दा गरेका छन्। युद्धका कारण उत्पन्न अवरोधहरू, बढ्दो ऊर्जा र खाद्यान्नको मूल्यवृद्धिका कारण सहकार्य गर्ने विषयमा छलफल गरेको ह्वाइट हाउसले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.