इटहरीमा युवाको हत्या गर्ने तीन जना समातिए

|

सुनसरी : धरान र इटहरीबाट दुई छुट्टाछुट्टै हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। धरानमा आफ्नै आमाको हत्या गरेको आरोपमा २५ वर्षीय सौगात सुवेदीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।

उनले गत शनिबार धरान १४ मा आफ्नै आमा ४२ वर्षीया शान्तालाई ‘बाम्फोक’ प्रहार गरेका थिए। बाम्फोकको प्रहारबाट गम्भीर घाइते शान्तालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगिएको प्रहरीले जानकारी दिएको छ।

उपचार सम्भव नभएपछि मंगलबार घर फर्काउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मंगलबार दिउँसो ३ बजे शान्ताको ज्यान गएपछि छोरा सौगातलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ। उनी डिप्रेसनको विरामी भएर औषधी सेवन गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आमालाई बाम्फोक प्रहार गरेका सौगातले आफ्नै घाँटी पनि रेटेका थिए। सामान्य चोट लागेकाले शनिबार नै उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरेर निको भएका प्रहरीले जानकारी दिएको छ।

सौगात शान्ताका सौतेनी छोरा भएको बताइएको छ। घटना के कारणले भएको भन्ने सम्बन्धमा अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ।

यसैगरी इलाका प्रहरी कार्यालय इटहरीले ‘कर्तव्य ज्यान मुद्दा’मा संलग्न तीन जनालाई पक्राउ गरेको छ। हत्यामा संलग्न भएका भन्दै प्रहरीले इटहरी ४ गौरीगाउँ बस्ने १९ वर्षका अनिश मगर, सोही ठाउँका २० वर्षका सुशील राई र मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय ववी चौधरीलाई पक्राउ गरेको हो।

उनीहरुले २० वर्षीय सुमन तामाङलाई बुढी गंगा जमुना मुक्ति घाटमा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर अवस्थामा फेला परेका उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले तत्काल उद्दार गरी कोशी अञ्चल अस्पताल विराटनगरमा पठाएको थियो।

उपचारका लागि विराटनगर पुर्‍याइएका तामाङको सोही दिन ज्यान गएको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिएका छन्।

उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट ‘मुलुकी अपराध संहिता २०७४’ बमोजिम म्याद थप गरेर अनुसन्धान थालिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.