|

पर्वत : २०७४ सालको स्थानीय तहको निर्वाचनकै बेलामा मञ्जु देवी गुरुङको चर्चा चुलिएको थियो। शालीन, भद्र र इमानदार नेतृको छवि बनाएकी उनको  व्यक्तित्व यो पटकको निर्वाचनले झनै माथि लगेको छ। 

पोखरा महानगरपालिकाका उम्मेदवारमध्ये सबैभन्दा बढी मत पाएपछि उनीप्रतिको मतदाताको विश्वास स्पष्ट हुन्छ। अघिल्लो स्थानीय तहको निर्वाचनबाट उपप्रमुखमा निर्वाचित भएकी उनले यस पटक आफू दोहोरिन नचाहेको बताएकी थिइन्। 

एमालेले पोखरा महानगर प्रमुखमा दीपक पौडेललाई टिकट दिएको वेलासम्म चुनावमा लड्न इच्छुक नरहेको बताएकी उनी पौडेललाई फेरेर थापालाई उम्मेदवार बनाएपछि चुनावमा फर्किइन् र जितिन् पनि।

गुरुङ प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै दोस्रोपटक उपप्रमुख निर्वाचित भइन्। उनले तीन हजार ८८३ मतान्तरले जितेकी हुन्। आफ्नै पार्टीबाट प्रमुखका उम्मेदवार थापाको भन्दा सात हजार ६९८ र महानगरप्रमुखमा निर्वाचित भएका गठबन्धनका आचार्यका भन्दा एक हजार ६५३ बढी मत ल्याएकी छिन्। त्यसैले पनि उनको चर्चा चुलिएको हो। 

०७४ सालको निर्वाचनमा गुरुङले नजिककी प्रतिद्वन्द्वी काँग्रेसकै उम्मेदवार सरस्वती गुरुङलाई १२ हजार ११० मतान्तरले पराजित गरेकी थिइन्। मञ्जुको पक्षमा ५६ हजार ४४८ मत आउँदा सरस्वतीले ४४ हजार ३३८ मत पाएकी थिइन्। यस पटकको निर्वाचनमा गठबन्धन रहेका कारण उनको मतान्तर अघिल्लो निर्वाचनमा जस्तै भने हुन सकेन। 

यस्तो छ उनको राजनीतिक यात्रा

२०१८ साल मंसिर १६ गते स्याङ्जाको सिरुबारीस्थित पञ्चमूलमा बाबु स्व.ओमप्रसाद गुरुङ र आमा गौरादेवी गुरुङबाट जन्मिएकी हुन्। २०३८ सालमा मेखबहादुर गुरुङसँग वैवाहिक जीवनमा बाँधिएपछि एक छोरा र एक छोरी जन्मिए। तर वैवाहिक जीवनको त्यो खुसी लामो समय टिक्न सकेन। २०४९ साउन १६ गते श्रीमानको निधन भयो। 

त्यसपछि बिस्तारै राजनीतिक रूपमा सक्रिय हुन थालेकी गुरुङ २०५० सालमा अनेम संघको सदस्य बनिन्। २०५१ देखि २०५६ सम्म अनेम संघ पोखरा नगर समिति सल्लाहकार सदस्य बनेकी उनी २०५५ मा एमालेको संगठित सदस्य बनेपछि राजनीतिमा पूर्ण रूपमा सक्रिय बनिन्। २०५७ देखि ०६४ सम्म अनेम संघ पोखरा नगर समितिको   सचिव बनेर दुई कार्यकाल पूरा गरेकी गुरुङले एमाले वडा–८ को वडा कमिटी सदस्य २०५५ देखि ०६५ सम्म दुई कार्यकाल काम गरिन्। २०६१ देखि ०६३ सम्म एमाले जिल्ला कमिटी कास्कीको आर्थिक विभाग सदस्य भई काम गरेकी उनले २०६६ देखि ०६९ सम्म एमाले क्षेत्र नं. ३ को क्षेत्रीय सचिवालय सदस्यको काम सम्हालिन्। 

२०७० देखि आठ वर्षसम्म एमाले जिल्ला कमिटी सचिवालय सदस्य बनेकी गुरुङले २०६४ देखि ०७१ सम्म अखिल नेपाल महिला संघ कास्की जिल्ला समितिको कोषाध्यक्ष भएर काम गरेकी थिइन्। २०६९ मा अखिल नेपाल महिला संघको केन्द्रीय विदेश विभाग सदस्य र २०६६ देखि २०७२ सम्म नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्कीको कोषाध्यक्षको रूपमा उनले काम गरिन्। २०७२ देखि ०७७ सम्म अखिल नेपाल महिला संघ कास्की जिल्ला समितिको अध्यक्ष बनेकी गुरुङ २०६६ सालमा भएको पार्टीको आठौँ महाधिवेशनमा सहभागी भइन्। २०७८ मंसिरदेखि नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेकी उनी विभिन्न सामाजिक संस्थाहरूमा पनि आबद्ध छिन्।

उनी आर्थर डाँडाखर्क कोने परिवार पोखराको उपसचिव, सोंपाल तमु समाज पोखरा जनसम्पर्क समितिको सदस्य,  गोर्खा कम्युनिटी ग्रुप पोखराको आजीवन सदस्य, पञ्चकोशी तमु समाज पोखराको आजीवन सदस्य, तमु धिं नेपाल पोखराको आजीवन सदस्य र पर्वत मिलन समाज पोखराको आजीवन सदस्य छिन्। उनले बौद्ध अर्घौँ सदनको आजीवन सदस्य,  गोर्खा भू.पु महिला संघ गण्डकी अञ्चलको पूर्व सदस्य, शैक्षिक समाज साकाहारी संस्थाको पूर्व उपाध्यक्ष, सोंपाल तमु समाजको पूर्व उपसचिव र पूर्व सचिव तथा दि विज्डम कास्की बोर्डिङ स्कुलको संस्थापक भई काम गरेकी छिन्। 

उनी २०६२\२०६३ को जनआन्दोलनको विजय प्राप्त भएको दिन जीवनकै सबैभन्दा खुशीको र नेता मदन भण्डारीको रहस्यमय मृत्यु भएको दिन सबैभन्दा मर्माहत भएको दिनका रूपमा लिन्छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.