|

बागलुङ : जिल्लामा वैशाख २५ देखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ। पठनपाठन सुरु भएको दुई साता बित्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्। 

रुद्रेपिपल माध्यमिक विद्यालय बागलुङमा कक्षा १० मा अध्ययनरत छात्रा योजना थापा मगर पढाइ सुरु भए पनि किताब नपाउँदा समस्या भएको बताउँछिन्। ‘पढाइ सुरु भएको दुई हप्ता भयो। अहिलेसम्म किताब पाएका छैनौँ। किताब नहुँदा घरमा पढ्ने अवस्था भएन,’ थापाले भनिन् ‘कक्षामा पनि पुराना किताब साथीहरूसँग मिलेर पढ्नुपर्ने अवस्था छ।’

विद्यामन्दिर माविमा पढ्ने संस्कार गौतमले सरकारले बालबालिकाप्रति चासो नदिँदा यस्तो अवस्था आएको बताए। उनले करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठनमा समस्या भएको भन्दै अहिले पनि पाठ्यपुस्तक नहुँदा समस्यामा परेको बताए।

‘कोरोनाको कारण झण्डै दुई वर्ष पढाइ भएन। अहिले पढाइ भइरहँदा पाठ्यपुस्तक छैन,’ गौतमले भने ‘सरकारले चुनावी सामग्री भनेकै मितिमा सम्बन्धित ठाउँमा पुर्‍याउँछ। तर विद्यार्थीले पढ्ने किताबमा भने लापरबाही गर्छ।’

सदरमुकाममै पढ्ने विद्यार्थीले त पाठ्यपुस्तक अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउने अवस्था छैन। राज्यको लापरवाहीका कारण शैक्षिक सत्र सुरु भएको यतिका समयसम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्नु दु:खद भएको रुद्रेपिपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले बताए। उनले जिल्ला सदरमुकामकै विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक नआएको भन्दै दुर्गममा तत्काल पुग्न नसक्ने बताए।

‘सदरमुकामकै विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आएका छैनन्, दुर्गम गाउँका विद्यालयमा त झन् कसरी पुग्लान्’, श्रेष्ठले भने ‘सरकारको लापरवाहीकै कारण हो, यति वेलासम्म पनि विद्यार्थीका हातहातमा पुस्तक पुग्न नसक्नु।’

शिक्षा विकास तथा समन्वय एकाइले भने जिल्लामा पाठ्यपुस्तक ल्याउन व्यवसायीलाई लगाएको रहेको जनाएको छ। एकाइका प्रमुख कुश्मराज उपाध्यायले अहिलेसम्म जिल्लामा आधा विद्यार्थीले मात्रै पाठ्यपुस्तक पाएको बताए। उनले समयमै पाठ्यपुस्तक विद्यालयमा पुर्‍याउन पुस्तक व्यवसायीसँग आग्रह गरेको बताए।

‘अहिलेसम्म जिल्लामा आंशिक रूपमा विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छन्, हामीले व्यवसायीलाई समयमै पाठ्यपुस्तक ल्याउन अनुरोध गरेका थियौँ,’ उपाध्यायले भने ‘अब केही समयमै सबै विद्यालयमा पाठ्यपुस्तक पुग्नेछ।’ 

बागलुङमा सामुदायिक ५१४ र संस्थागत ५९ गरी ५७३ विद्यालय छन्। संस्थागत विद्यालयले पाठ्यपुस्तक पाए पनि सामुदायिक विद्यार्थीले भने पाउन सकेका छैनन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.