|

काठमाडौं : स्थानीय निर्वाचनमा काठमाडौं महानगर र तीनवटा उपमहानगरमा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन्। बाजी मार्नेमा अन्तिम मतपरिणामको नतिजा आउनुअगावै करिब २० हजार मतान्तरले काठमाडौंमा बालेन्द्र साहले बाजी मारेका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंह करिब २० हजार मतले पछाडि परे।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाका गोपाल हमाल र सुनसरी धरान उपमहानगरपालिकाका हर्कमान साम्पाङ राई, जनकपुर उपमहानगरपालिकाका मनोजकुमार साह सुडी रहेका छन्।

हमालले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गरी मेयरमा विजयी भए। हमालले २६ हजार ८६५ मत प्राप्त गरे। पराजित वडले १४ हजार ८१७ मत प्राप्त गरे।

यसअघि २०७४ को निर्वाचनमा स्वतन्त्रबाटै चुनाव लडेका हमाललाई पराजित गरेर वड मेयरमा निर्वाचित भएका थिए। यसैगरी नेकपा एमालेबाट मेयरका उम्मेदवार रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेका थिए।

यस्तै लौरो चुनाव चिह्न लिएर चुनावमा उठेका साम्पाङले २० हजार ८२१ मत प्राप्त गरेर विजयी भएका छन्। यस्तै साम्पाङले नेपाली कांग्रेसका किशोर राईको भन्दा करिब ५ हजारको अग्रताले हासिल गरेका हुन्। राईले १६ हजार ५९ मत प्राप्त गरे। यस्तै मेयरकी उम्मेदवार एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत प्राप्त गरिन्।

यसैगरी जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले १३ हजार ४६५ मत ल्याए भने नेकपा एमालेका शिवशंकर साहले ९ हजार ५३२ मत ल्याएका थिए। यस्तै लोसपाका मनोज चौधरीले ५ हजार ३६० ल्याएका थिए।

स्वतन्त्र उम्मेदवारले गरेका निर्णय :

स्वतन्त्र उम्मेदवारी दिएर सुनसरीको धरान उपमहानगरपालिका प्रमुखमा निर्वाचित साम्पाङले स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित तुल्याउन राजस्व सम्बन्धी कार्यदल गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। 

वरिष्ठ राजस्व तथा सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले पेश गरेको राजस्व अध्ययन कार्यदल गठनसम्बन्धी प्रस्ताव प्रमुख राईले सदर गरेका हुन्। उनको निर्णय अनुसार उपप्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। 

कार्यदलका सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनीत अर्थशास्त्री एकजना, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा निजले तोकेका प्रतिनिधि र राजस्व महाशाखा प्रमुख सदस्य सचिव रहने छन्।

यस्तै धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हमालले आफ्नो पहिलो प्राथमिकता सचिवालय सुदृढ गर्ने रहेको बताएका छन्। आइतबार बिहान निर्वाचनको अन्तिम मत परिणाम घोषणापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मेयर हमालले यस्तो बताएका थिए।  

‘मेरो पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्ने हो किनभने सचिवालय सुदृढीकरण नगरेसम्म कुनै पनि योजना सही तरिकाले कार्यान्वयन हुँदैन’, उनले भने, ‘यहाँ जति सचिवालय छन्, तिनलाई पारदर्शी, चुस्त, दुरुस्त र जनमुखी कसरी बनाउनेबारे कार्यालय प्रमुख, शाखा प्रमुखसँग बसेर, सल्लाह गरेर अगाडि बढ्छौँ।’

उनले इमान्दारीपूर्वक धनगढीलाई विकास गर्ने बताउँदै यो आर्थिक वर्षमा पूरा नभएका योजना सम्पन्न गर्नेतिर ध्यान दिने उल्लेख गरे। उनले भने, ‘आर्थिक वर्षको अन्त पनि आइसकेको छ, त्यसैले जति पनि पेन्डिङ योजना छन् तिनलाई समयसीमा भित्र गुणस्तर कायम गरेर सम्पन्न गर्नेमै ध्यान दिन्छौं।’

साथै उनले धनगढीलाई योजनाबद्ध विकासतर्फ अगाडि बढाउने प्रतिबद्धता समेत गरेका छन्। ‘चुनौतीलाई अवसरमा बदल्ने भनेर आएको हुँ’, उनले भने, ‘धनगढी बनाउनका लागि सबैले समान दायित्व निर्वाह गर्ने वातावरण सृजना गर्न समन्वयकर्ताको रूपमा म मेयर निर्वाचित भएको छु। मैले यहाँका सबै सम्भावनालाई जोडेर धनगढीलाई योजनाबद्ध विकासतर्फ अगाडि बढाउने अवसरका रूपमा लिएको छु।’

यसैगरी जनकपुरका नवनिर्वाचित साहले कार्यभार सम्हालेसँगै तीनवटा निर्णय गरेका छन्। 

मंगलबार नवनिर्वाचित नगरप्रमुख साहले पदभार ग्रहणपछि जनकपुरको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने निर्णय गरेका छन्। यसअघि उपमहानगरपालिका कार्यालय आफैंले फोहोर व्यवस्थापन गर्ने गरेको थियो। वडा कार्यालयलाई थप जवाफदेही बनाउँदै फोहोर व्यवस्थापनका लागि जिम्मेवारी विकेन्द्रीकरण गर्ने निर्णय मेयर साहले गरेका छन्।

यसैगरी उपमहानगरपालिकाको काम प्रभावकारी बनाउन सम्बन्धित शाखाको काम सम्बन्धित कर्मचारीबाट गराउने निर्णय मेयर साहले समेत गरेका हुन्। उपमहानगर कार्यालयभित्र सेवाग्राहीलाई सहज ढंगले सेवा उपलब्ध गराउँदै सुशासन कायम गर्न पारदर्शिता अपनाउने निर्णय भएको छ।

काठमाडौं महानगरका लागि निर्वाचित बालेनको भने हालसम्म विजय घोषणा हुन बाँकी नै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.