|

धरान : भर्खरै सम्पन्न पालिका चुनाव २०७९ बाट धरानको मेयरमा लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका हर्कराज राई अर्थात् हर्क साम्पाङ २०८२१ मत ल्याएर विजयी भएका छन्। सोमबार उनले जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधीश कैलास सुवेदीबाट शपथ ग्रहण गरे। सोमबार नै उनले उपमेयर आइन्द्रविक्रम बेघासहित २० वडाका वडाध्यक्ष र वडा सदस्यलाई पनि शपथ खुवाए। मंगलबारबाट उनले पदभार ग्रहण गरे।

धरानमा उनी बाहेक सम्पूर्ण जनप्रतिनिधि दलबाट निर्वाचित भएका छन्। वडा नम्बर ६ मा भने काँग्रेसले टिकट नदिएपछि बागी उठेर वडाध्यक्ष भएका एक उम्मेदवार त छन् तर उनी कहिले पार्टीमा फर्कने हुन्, कुनै टुङ्गो छैन

 साम्पाङ धरानको मेयर बन्न जसरी एक्लै संघर्ष गरे। अब उपमहानगर चलाउन पनि त्यसरी नै संघर्ष गर्नुपर्ने देखिन थालेको छ। एकै पार्टीबाट आएका जनप्रतिनिधिबीच पनि फाटो देखिने गरेको परिप्रेक्ष्यमा उनले सम्पूर्ण दलका प्रतिनिधिलाई कसरी मिलाएर लैजालान् ? सडकबाट प्रश्न उठाउँदै आएका उनी आफ्नै प्रश्नको जवाफ दिने ठाउँमा पुगेका छन्। त्यस्तो उनले ती कुरा पूरा गर्लान् त ? यिनै कुरा समेटेर हामीले राजनीतिक विश्लेषक डा. राजेन्द्र शर्मासँग कुराकानी गरेका छौँः–

डा. राजेन्द्र शर्मा

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको आगमनलाई कसरी लिने?
यो एउटा व्यक्ति तिरस्कृत भएको अवस्था हो। यसलाई मतदाताले ठूला दलले लादेका उम्मेदवारलाई अस्वीकार गरेको अवस्थाको रूपमा बुझ्नुपर्छ।

केहीले उनको जित आवेगको प्रतिक्रिया मात्रै हो, जनताले विश्वास गरेर दिएको अभिमत होइन भन्छन् नि ?
धरानमा त्यस्तो देखिएन। आम मतदाताको अपेक्षा धरानको विकास–निर्माण अनि भ्रष्टाचारमुक्त नगरपालिका थियो। लामो समयदेखि धरानको नेतृत्व सम्हाल्ने दलले त्यो कुरा बुझेन। २०७६ को निर्वाचनमा त्यो ब्रेक भयो। तैपनि धरानका मतदाताका महत्त्वाकांक्षा पूरा भएनन्। भ्रष्टाचार नियन्त्रण भएन। एयरपोर्ट त्यसै तुहिएर गयो।

बसपार्क बल्ल–बल्ल २५ वर्षपछि यसपालि निर्माण शुरु भएको छ र त्यहाँ ‘टेक्निकल डिफेक्ट’ छ भनेर नगरपालिका स्वयंले भनिसक्यो। त्यति वेला २ करोडभन्दा बढीको खानेपानी आयोजनाले धरानमा खानेपानी पुर्‍याउन सकेन। यस्ता थुप्रै महत्त्वाका‌क्षी आयोजना धरानका मतदाताले अपेक्षा गरेका थिए ती सबै तुहिँदै गएको, भ्रष्टाचार र अनियमितता रोक्न पनि नसकेको अवस्थामा धराने जनताले ‘नयाँ’ व्यक्तिलाई छानेका छन्। त्यसकारण यसलाई क्षणिक भन्नुभन्दा पनि प्रत्याह्वानको व्यवस्था नभएकाले विकल्पको रूपमा उनलाई छाने भन्न सकिन्छ। 

धरानमा साम्पाङ मात्रै एक्ला स्वतन्त्र उम्मेदवार हुन्। बाँकी रहेका पार्टीगत रूपमा आएका जनप्रतिनिधिलाई मिलाएर लैजाने आधार के के हुन सक्छन् ?

हर्क साम्पाङ नतिजामुखी मान्छे हुन्। उनले वैदेशिक रोजगारीबाट धरान फर्केपछि एकदमै सामाजिक कामका रूपमा परिणाममुखी काम गरेका छन्। हर्क साम्पाङ दुईवटा अभियान लिएर एउटा– भ्रष्टाचार विरोधी अभियान र अर्को–जनजीविकाका मुद्दा उठाएर हिँडेका कारणले गर्दा शायद सबै सदस्यहरू (वडा सदस्य र बोर्ड सदस्यहरू)ले सहयोग गर्छन् जस्तो लाग्छ। 

सडकमा प्रश्न उठाए जस्तो जवाफ दिन सजिलो छैन भन्ने केहीको दाबी छ, त्यसलाई के जवाफ हुनसक्छ ? 
एकदमै सही हो, जिम्मेवारी नभएका वेला गरिएको भूमिका र जिम्मेवारीमा भएका वेला गरिएको भूमिका चाहिँ फरक हुन्छ। यो ‘सिस्टम एप्रोच’ (प्रणाली अवधारणा)ले पनि त्यही भन्छ। फुटबलको ‘स्क्वाड’मा ७ जना बाहिर बस्छन् र बाँकी ११ जना खेल्छन्। ‘सब्सिच्युट’ भएपछि भित्रको बाहिर निस्कन्छ, बाहिरको भित्र जान्छ। मैदानमा बसेका वेलाको उसको भूमिका र बेन्चमा बसेर हेर्दै गरेको ‘सब्सिच्युट’को भूमिका निश्चय नै फरक हुन्छ। ‘सब्सिच्युट’ खेलाडी जस्तो उनी हिजो हुटिङ गर्दै थिए।

आज उनी ‘प्लेयर’ भएर छिरेका छन्। उनले त्यहाँ फल गर्न हुँदैन। उनले त्यहाँ राम्रोसँग क्यारी गर्नुपर्छ। सबै राजनीतिका, सामाजिक अभियानका सबै प्रश्नहरू जो हिजो उनले हुटिङ मात्रै गरिरहेका थिए। आज आफैँ गोल गर्ने जिम्मेवारीमा पुगेका हुनाले उनको भूमिका निश्चय नै पृथक् हुन्छ र हिजो भने जस्तो सजिलो चाहिँ हुँदैन। जटिलता त उनमा छ

 त्यसैले जतिवटा वाचा उनले गरेका छन् तिनमा उनी खरो उत्रन सक्छन् र पूरा गर्नसक्छन् भन्ने अपेक्षा हामीले गर्न सक्दैनौँ। राजनीतिक दलहरूसँग यत्रो तागत हुँदा, यत्रो देश चलाउने बजेट हुँदा, कार्यकर्ताको ठूलो पंक्ति हुँदा त राजनीतिक दलले घोषणापत्रमा लेखेका कति काम अधुरै छोडेर गएका छन्। उनी त त एउटा फगत व्यक्ति हुन्। उनको एउटा सानो भिजन छ। त्यो सानो भिजनले देखेका कुरा पूरा गर्न दलहरूले साथ दिएनन् भने त हम्मे परिहाल्छ नि ! 

उनलाई धरानको मेयर भएर काम गर्दा आइपर्ने अवसर र चुनौती तपाईं के के देख्नुहुन्छ ?
एउटा चुनौती के छ भने नगरपालिकामा कर्मचारीको एउटा सञ्जाल छ त्यो सञ्जाल चाहिँ वामपन्थीहरूको सञ्जाल हो। त्यो ठूलो सञ्जाल छ कर्मचारीहरूमा। कर्मचारीहरूले काम गर्ने असहज वातावरण बनाए भने बोर्डले मात्रै त्यहाँ काम गर्न सक्दैन। कर्मचारीबाटै काम उठाउनुपर्छ। कर्मचारीहरूको सहयोग कसरी लिन सक्छन् त्यो एउटा उनको चुनौती हो।

दोस्रो कुरा–राजनीतिक दलका सबै बोर्ड मेम्बर छन्। उनी एक्ला स्वतन्त्र छन्। त्यसकारण दलका साथीहरूले संगठित रूपमा विरोध गरे र आफ्नै एजेण्डा मात्रै लिएर जाने हो भने हर्क साम्पाङ फेरि पनि एक्लिन सक्छन्। अवसर के छ भने, उनका बोर्ड मेम्बरले बैठकलाई लाइभ टेलिकास्ट (प्रत्यक्ष प्रसारण) र्छौँ। बैठकमा कसले के के बोल्छन् त्यसका आधारमा ती बोर्ड मेम्बरसँग डिलिङ गर्छौँ भनेका छन्।

यो एक किसिमको धम्की पनि हो। एक खालको काम गर्ने दबाव पनि हो। त्यसकारण हर्क साम्पाङले त्यो दबाव सिर्जना गरेर एउटा काम गर्ने र अर्को सहमतिमा राजनीतिक दलहरूलाई राम्रा अभियानहरू, राम्रा कामहरू ल्याएर समेट्ने। उनी त प्लानर होइनन् त्यसैले राम्रा प्लानरलाई राखेर उपमहानगरको ‘एक्सन प्लान’ कस्ता हुने, भावी कार्ययोजना कसरी बनाउने त्यस्तो योजना बनाएर उनी अगाडि बढे भने सफल हुन्छन् जस्तो मलाई लाग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.