|

काठमाडौं : सीमित बजेटले निर्माण थालेको नेपाली फिल्म 'कबड्डी' नेपाली फिल्म उद्योगमा सबैभन्दा सफल फ्रेन्चाइजको रुपमा स्थापित भएको छ। 'कबड्डी'ले यसका निर्देशक तथा कलाकारलाई स्थापित त गर्‍यो नै साथै नेपाली फिल्म उद्योगलाई नयाँ धार पनि दियो। 

लगातार तीन फिल्मको सफलतापछि कबड्डी फ्रेन्चाइजको चौथो फिल्म प्रदर्शनको तयारीमा छ। जसले प्रदर्शनअघि नै धेरै कीर्तिमान बनाइसकेको छ भने प्रदर्शनपछि पनि नेपाली बक्स अफिसमा ठूलै तरंग आउने अनुमान धेरैले गरेका छन्। 

सोमबारदेखि बुकिङ खुलेकोमा पहिलो दिनका अधिकांश शोका टिकट बिक्री भइसकेको छ भने दोस्रो दिनको बुकिङ पनि तीव्र गतिमा भइरहेको छ। फिल्मको क्रेज काठमाडौंमा मात्रै नभएर बिर्तामोड, विराटनगर, नारायणगढ, बुटवल, पोखरा लगायतका शहरमा पनि धेरै देखिएको छ।

कबड्डी फ्रेन्चाइजको अन्तिम फिल्म भएकाले पनि 'कबड्डी ४' को क्रेज यसअघिका फिल्मभन्दा बढी छ। दर्शकमा फिल्मको केन्द्रीय पात्र काजीको बिहे हुन्छ कि हुँदैन भन्ने चासो सबैभन्दा बढी छ।

काजीको प्रेम कथालाई मियो बनाएर कबड्डी फ्रेन्चाइजका तीन फिल्ममा समाजका विभिन्न पाटोहरू समेट्ने प्रयास गरिएको छ। जसमा राजनीति, संस्कृति, शक्ति संघर्ष र मान्छेका समाजको सीमा पर्खालबाहिर जाने चाहनालगायत विषय फिल्मले समेटेको छ। 

दर्शकले कबड्डी र फिल्मको मुख्य पात्र काजीलाई पर्यायवाचीको रुपमा हेर्ने गर्छन्। काजी नेपाली फिल्मको इतिहासमा दर्शकले सबैभन्दा बढी मन पराएको पात्रमध्येको एक त हो नै साथै दयाहाङले आफ्नो करिअरमा सबैभन्दा लामो समयसम्म निर्वाह गरेको विशेष पात्र पनि हो। जसमा उनले झण्डै १० वर्ष बिताएका छन्।

कबड्डी निर्माण कम्पनी बाँसुरी सिनेमाले सार्वजनिक गरेको 'जर्नी अफ कबड्डी' नामक भिडियोमा दयाहाङले काजीको बारेमा बोलेका छन्। छुच्चो मुख, चर्को बोली भए पनि काजी मनको सफा रहेको उनले जनाएका छन्। उनले भनेका छन्, 'अभिभावकले आफ्नो छोरा यस्तै होस् भनेर सोच्छन् होला। काजी त्यसरी सोचेजस्तो नभएको छोरा हो। अथवा आफ्ना अभिभावकबाट नबुझिएको छोरा हो।'

'काजी एकदमै साँचो प्रेम गर्ने पात्र हो। प्रेम गर्ने आ-आफ्नो तरिका हुन्छ‚ आ-आफ्नो शैली हुन्छ‚' काजीको प्रेम गर्ने शैलीका बारेमा उनले भनेका छन्, 'कसैले फूल देखाएर माया गर्छु भन्लान्, कसैले साँच्चिकै माया देखाएर माया गर्लान्, कसैले एकदमै केयरिङ भएर माया गर्लान्, कसैले अलिकति बढी हक जताएर माया गर्लान्, कसैले भनेर गर्लान्, कसैले नभनी गर्लान्।'

दयाहाङले भनेका छन्, 'उसलाई साँच्चिकै उसको सोल्टिनीले माया गर्छ भन्ने नै लाग्छ। मैले यत्तिको माया गर्नुपर्छ भनेर उसले अलिकति हक जमाएर माया गर्छ। त्यो हिसाबले उसले एकदमै साँचो माया गर्छ।' 

काजीले आफ्नो सोल्टिनीसँग बिहे गर्ने चाहनाको प्रसंगमा उनले भनेका छन्, 'सोल्टिनीले बरु मारिदे तँसँग बिहे गर्दिनँ भन्छे‚ जुन कुरा उसले अहिलेसम्म सुनेको थिएन। त्यो सुनेपछि अब प्रेम मात्रै गर, विवाह गर्न आवश्यक छैन जस्तो जस्तो उसलाई लाग्यो।'

पहिलो दुई वटा फिल्ममा पछि परेको काजीले तेस्रो फिल्ममा पर्समा रहेको सोल्टिनीको फोटो फालेर अर्की सोल्टिनीलाई माया गर्न थालेको हुन्छ। जुन सफल हुन सक्दैन। चौथो फिल्ममा नयाँ पात्र शान्तिकाे रुपमा अभिनेत्री मिरुना मगर भित्रिएकी छन्। फिल्मकाे ट्रेलरले फिल्ममा काजी शान्तिप्रति पनि आकर्षित हुने देखाएकाे छ। यस्तोमा काजीको प्रेमकथाले कस्तो मोड लिन्छ भन्ने हेर्न बाँकी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.