|

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता एवम्​ सहसचिव टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गरी पीडितलाई कानूनअनुसार क्षतिपूर्ति पाउने हकको व्यवस्था स्मरण गराएका छन्।

पोखरेलले निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत यौनजन्य हिंसा तथा बलात्कार घटनाबाट पीडितहरूको न्यायिक हक र सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। आयोगले साक्षीको सुरक्षा गर्न, पीडितलाई मनोसामाजिक परामर्श र क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका आरोपितलाई शीघ्र कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ।

‘यस प्रकारका घटनामा प्रहरीको अनुसन्धानमा सघाउन तथा अनुचित प्रभाव पार्ने कुनै पनि क्रियाकलाप नगर्न/नगराउन आयोग सम्बद्ध पक्षलाई अनुरोध गर्दछ‚’  विज्ञप्तिमा भनिएको छ। सार्वजनिक भएका यौन हिंसा तथा बलात्कारका घटनाको अनुसन्धानमा नेपाल प्रहरीबाट भएका कार्यहरू तथा देखिएका चुनौतीको बारेमा बुधबार प्रहरी तथा अनुसन्धानमा संलग्न अधिकृतहरूसँग आयोगमा छलफल गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए।

छलफलका क्रममा आयोगका सदस्य लिली थापाले त्यस्ता घटनाको निष्पक्ष अनुसन्धानबाट पीडितको समयमै न्याय प्राप्त गर्ने अधिकारको सुनिश्चित गर्न निर्देशन दिइन्। प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महिला हिंसासँग जोडिएका घटनालाई प्रहरीले संवेदनशील रुपमा लिई अनुसन्धान गरिरहेको जानकारी दिएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.